अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्दै गरेका बङ्गलादेशी नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३१, आईतबार (३ घण्टा अघि)
  • २९ पटक पढिएको
अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्दै गरेका बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं, ३१ जेठ । भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक जना बङ्गलादेशी नागरिकलाई झापामा प्रहरीले नियन्त्रणमा लिएको छ।

बङ्गलादेशको राहादानी बोकेर अनाधिकृत रूपमा सीमा पार गरिरहेका ३३ वर्षीय एमडी सैफुल इस्लामलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार दिउँसो १२:४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित गैरीगाउँ इलाकाबाट उनलाई नियन्त्रणमा लिइएको हो। बङ्गलादेशको चाँदपुर अन्तर्गत पर्ने तुलातोली कचुवा मनोहरपुर-३६३० स्थायी ठेगाना भएका इस्लाम, एमडी ताजुल इस्लामका छोरा हुन्।

उनी भारतको पानीट्याङ्की क्षेत्र हुँदै मेची खोलाको बगरको बाटो प्रयोग गरेर अवैध रूपमा नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेका थिए। सीमा क्षेत्रमा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनले गैरकानुनी रूपमा सीमा पार गर्न लागेको खुलेको हो।

पक्राउ परेका इस्लामको साथबाट बङ्गलादेशी राहदानी समेत बरामद भएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस