१अध्यक्षविहीन भरतपुर क्यान्सर अस्पतालमा सेवा व्यवस्थापन अस्तव्यस्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३१, आईतबार (२ घण्टा अघि)
  • ३९ पटक पढिएको
१अध्यक्षविहीन भरतपुर क्यान्सर अस्पतालमा सेवा व्यवस्थापन अस्तव्यस्त

काठमाडौं, ३१ जेठ । चितवनको भरतपुरस्थित देशकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्षको नियुक्ति ढिलाइ हुँदा अस्पताल अस्तव्यस्त बन्दै जान थालेको छ । अध्यक्ष नहुँदा नीतिगत निर्णयदेखि दैनिक कामकाज सञ्चालनमा समेत प्रत्यक्ष असर परेको छ ।

अस्पतालले खरिद गरेका सामानहरूको भुक्तानी रोकिएको छ । त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा देखिन थालेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले विगत २ महिनादेखि तलब भत्ता खान पाएका छैनन् । निवृत्त भएका कर्मचारीहरुको उपदान वापत पाउने रकमको निकासा रोकिएको छ ।

२०८२ चैत २० गतेदेखि अध्यक्ष रहेका डा.विजय न्यौपानेको कार्यकाल सकिएपछि सरकारले २०८३ वैशाख १५ गते अस्पतालको नयाँ अध्यक्ष नियुक्तिका लागि ७ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । वैशाख २२ गतेसम्म दरखास्तको म्याद राखेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवेदकहरुको सर्टलिष्ट गरेको नाम प्रकाशन गर्न एक महिना भन्दा बढी समय लगाएको छ ।

जेठ २८ गते मन्त्रालयले सार्वजनिक गरेको सर्टलिष्टमा डा.अजयकुमार झा (धनुषा), डा. जया श्रेष्ठ (चितवन), डा. भावना वाग्ले (चितवन), डा. योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. लक्ष्मीनारायण सिंह (महोत्तरी), डा विजयचन्द्र आचार्य (चितवन) र डा.विश्वराम पौडेल (रामेछाप) गरी ७ जना रहेका छन् ।

मन्त्रालयले प्रारम्भिक सूचीमा परेका उम्मेदवारलाई आगामी असार १ गते अपराह्न ५ बजेसम्म आफ्नो कार्ययोजना तथा संस्थागत सुधारसम्बन्धी दृष्टिकोण समेटिएको अधिकतम तीन हजार शब्दको ‘सोचपत्र’ इमेलमार्फत पेश गर्न आग्रह गरेको छ ।

प्रारम्भिक सूची निकाल्न मात्रै एक महिनाभन्दा बढी समय लगाएको मन्त्रालयले सोचपत्रको मूल्याङ्कन गरेर कहिले अध्यक्षका लागि सिफारिस गर्ने हो भन्ने एकिन छैन । सोचपत्र इमेल मार्फत मागे पनि आवेदकहरुको प्रस्तुतिकरण र अन्तर्वार्ताको समय अझै निर्धारण गरेको छैन ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ । साथै क्यान्सर रोगसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको व्यक्ति मात्र अध्यक्ष पदका लागि योग्य हुने प्रावधान रहेको छ ।

मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अस्पतालको अध्यक्ष चयन गर्ने व्यवस्था छ ।

अस्पतालका कार्यकारी निर्देशक रहेका डा. शिवजी पौडेललाई अध्यादेशमार्फत गत वैशाख १९ गतेबाट पदमुक्त गरेपछि अस्पताल पनि निमित्त कार्यकारी निर्देशकको भरमा चल्दै आएको छ । निमित्त कार्यकारी निर्देशक रहेका डा.उमेश नेपालले अध्यक्षको नियुक्ती समयमा नै नहुँदा अस्पतालको दैनिक सेवा सञ्चालनमा समस्या भएको बताए । ‘अध्यक्ष नभएपछि अस्पतालको आम्दानी खाताबाट रकम खर्च खातामा ल्याउन मिलेन, अस्पतालले कमाएको सबै रकम आम्दानी खातामा जम्मा भएको छ,’ निमित्त कार्यकारी निर्देशक डा.नेपालले भने, ‘अध्यक्ष हुँदा नीतिगत निर्णय गर्ने र सरसल्लाह लिने मान्छेसमेत भएन, एक्लै परियो ।’

उनले सरकारले नीजि अस्पतालमा बीमा कार्यक्रम बन्द गरेपछि अस्पतालमा अस्वभाविक रुपमा बिरामीको चाप बढेको र समयमा नै सेवा उपलब्ध गराउन असहजता उत्पन्न हुँदा विभिन्न नाममा हुलहुज्जत, आन्दोलन, धाकधम्कीको सामाना गर्नुपरेको गुनासो गरे ।

बिरामीका आफन्तहरुले समयमा नै सेवा नपाएको, औषधि लगायतका अन्य सेवाहरु उपलब्ध नभएको भन्दैं अस्पताल प्रशासन घेराउ गर्ने, आन्दोलन गर्ने गर्न थालेका छन् ।

पहिले दैनिक ८५० हाराहारी बिरामी आउने अस्पतालमा अहिले अहिले दैनिक एक हजार २०० भन्दा बढी बिरामी आउने गरेका छन् । उही पूर्वाधार र उही जनशक्तिमा थपिएका बिरामीलाई सेवा दिन कठिन भएको डा. नेपालको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस