
काठमाडौं, ०३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असार (७–९)सम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा मनाउने तयारी गरेको छ ।
पार्टी स्थापनाको चार वर्ष नपुग्दै राष्ट्रिय राजनीतिको मूलधारमा पुगेको रास्वपाको यस महाधिवेशनलाई निकै चासोपूर्वक हेरिएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले २०७९ असार ७ गते वैकल्पिक राजनीतिक दल बनाउने उद्देश्यका साथ रास्वपा स्थापना गरेका थिए ।
त्यतिबेला निर्वाचन आयोगमा पेस गर्नका लागि केन्द्रीय सदस्य र पाँच सय जनाको हस्ताक्षर बुझाउन नागरिकतासमेत नपाएको रविले बताएका थिए ।
स्थापनाकालदेखि नै पार्टीको नाम, चुनाव चिह्न, झन्डा, लोगो, नीति र नेतृत्व विवादमा फसेको थियो । असार १७ गते रविको नेतृत्वमा २१ सदस्यीय संस्थापक सदस्यहरूको नामावली निर्वाचन आयोगमा दर्ता भएको थियो ।
संस्थापक सदस्यहरूमध्ये डा. मुकुल ढकाल, महेश्वर घिमिरे र गीता रेग्मीले पार्टी छोडेका छन् । डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाका सभामुख भएकाले पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।
संस्थापक सदस्य घिमिरे र रेग्मीलाई २०८२ साउन २३ गते बसेको केन्द्रीय समिति बैठकले फेरि मनोनीत गर्ने प्रस्ताव थियो, तर विवाद भएपछि रोकिएको थियो । घिमिरे २०७९ सालको समानुपातिक सांसद छनोट कार्यदलको संयोजक थिए ।
निर्वाचन लगत्तै उनी अध्ययनका लागि अष्ट्रेलिया गएका थिए । पछि उनी नेपाल फर्किए । त्यस बैठकले गृह मन्त्रालय अन्तर्गत हज समितिबाट बाहिरिएका अर्का संस्थापक सदस्य इश्रा मुल्ला मियालाई मनोनीत गर्यो । संस्थापक महामन्त्री डा. ढकाल पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा निष्काशनमा परे । बाँकी संस्थापक सदस्यहरू पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा सक्रिय छन् ।
रास्वपामा पछिल्लो समय जोडिएका पूर्वसहमहमन्त्री सुमना श्रेष्ठ, पूर्वप्रमुख सचेतक सन्तोष परियार, पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले पनि पार्टी छाडिसकेका छन् । पूर्वशिक्षामन्त्री रहेकी श्रेष्ठले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वर्ष भदौमा पार्टी छोडेकी थिइन् । परियारले वामपन्थी पार्टी निर्माण गर्ने उद्देश्यका साथ कात्तिकमा रास्वपा छोडेका थिए ।
संस्थापक सभापति रवि दुई पटक देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री र तीन पटक संघीय सांसदमा निर्वाचित भए । कवीन्द्र बुर्लाकोटी अहिले पार्टीका महामन्त्री तथा संसदको मुख्य सचेतक छन् । दीपक कुमार बोहरा पार्टीको प्रवास इन्चार्ज तथा सांसद छन् । विपिन कुमार आचार्य सहमहामन्त्री, बसुमाया तामाङ सहकोषाध्यक्ष, गणेश पराजुली सचिवालय सदस्य छन् । उनीहरू सांसद छन् ।
संस्थापक सदस्य उपेन्द्र पाण्डेले धादिङ–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न चाहेका थिए तर टिकट पाएनन् । उनी अहिले केन्द्रीय सदस्य छन् । इश्रा मुल्ला मिया पनि केन्द्रीय सदस्य छन् । सोबिता गौतम सरकारका कानुनमन्त्री, पार्टीको सचिवालय सदस्य छिन् । संस्थापक सदस्य कुशुम महर्जन संघीय सांसद तथा केन्द्रीय सदस्य छिन् ।
यस्तै विष्णुकुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभाव अधिकारी, डा. राकेश यादव, प्रमिला कुलुजु, रविना घिमिरे र एलिजा गुरुङ पार्टीको केन्द्रीय सदस्य तथा विभिन्न विभागमा सक्रिय छन् ।
गत वर्ष भदौमा जेनजी आन्दोलनका कारण देशको राजनीतिले नयाँ मोड लिएपछि रास्वपाले विवेकशील साझा, काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह समूह, जेनजी समूह तथा थारुवान÷थरुहट समूहसँग पार्टी एकता गरी निर्वाचनमा होमिएको थियो । गत फागुनमा भएको निर्वाचनमा रास्वपाले अभूतपूर्व नतिजा निकाल्न सफल भयो ।
करिब ५२ लाख लोकप्रिय मत ल्याएको रास्वपा एक्लैले प्रतिनिधि सभामा १८२ सिट जितेर कीर्तिमान बनाएको छ । केन्द्रीय समिति २१ सदस्यबाट बढेर ९३ सदस्यमा विस्तार भएको छ । महाधिवेशनमा पेस गर्नेगरी पार्टीले १५१ सदस्यीय केन्द्रीय समिति, १७ सदस्यीय पदाधिकारी र २५ सदस्यीय सचिवालय प्रस्ताव गरेको छ ।
मूलधारको पार्टीलाई चुनौती दिन वैकल्पिक पार्टी घोषणा गरेको रास्वपा शक्तिशाली बनेर देशको नेतृत्व गरिरहेको छ । थोरै समयमा ठुलो राजनीतिक छलाङ मारेको अवसरमा हुन गइरहेको महाधिवेशनमा पार्टी स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरू छुट्ने भएका छन् ।
संस्थापक सदस्यको नामावली:

