अख्तियार पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइएको कांग्रेसको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ४, बिहिबार (२ घण्टा अघि)
  • २९ पटक पढिएको
अख्तियार पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइएको कांग्रेसको आरोप

काठमाडौं, ०४ असार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई नियन्त्रणमा लिएर दबाब दिएको भन्ने सार्वजनिक आरोपप्रति गम्भीर आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको फेसबुक लाइभमार्फत सार्वजनिक भएको विषयलाई उद्धृत गर्दै उक्त आरोपबारे तत्काल छानबिन हुनुपर्ने माग गरेका हुन्।

सांसद केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा अन्य पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसको सत्यतथ्य छानबिन आवश्यक रहेको बताए।

“संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने र धम्कीका साथ पक्राउ पुर्जी जारी गर्न लगाइएको विषय बाहिर आएको छ। यदि यो सत्य हो भने यो लोकतन्त्र, विधिको शासन र सुशासनमाथिको गम्भीर प्रहार हो,” उनले संसद् बैठकमा भने।

कांग्रेस सांसद केरुङले आरोपको निष्पक्ष र तथ्यपरक अनुसन्धानका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरे। उनले संवैधानिक निकायहरूको स्वतन्त्रता र निष्पक्षता जोगाउन यस्ता विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरे।

संसद्मा उठाइएको उक्त विषयबारे सरकारको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस