रास्वपा महाधिवेशनमा नीति र नेतृत्वमाथि प्रतिनिधिहरूको धारणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (२ घण्टा अघि)
  • ४५ पटक पढिएको
रास्वपा महाधिवेशनमा नीति र नेतृत्वमाथि प्रतिनिधिहरूको धारणा

काठमाडौं, ०७ असार। चितवनको गेस्ट हाउस चौर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिले खचाखच छ । मञ्चको सजावट गरिसकिएको छ भने देशभरका प्रतिनिधि महाधिवेशन उद्घाटनस्थलमा आइपुगेका छन् ।

गर्मीको रापतापसँगै रास्वपाको पहिलो महाधिवेशनको सरगर्मी चितवनमा राम्रैसँग बढेको छ । चौरमा भेला भएकाहरू विमर्श गरिरहेका छन्- अबको नेतृत्व कस्तो बन्ला ? पदाधिकारीमा कोको आउलान् ? सर्वसम्मत होला कि लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिएला ?

महाधिवेशनमा सहभागी प्रतिनिधिहरू सकेसम्म सहमतिबाट, नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्नुपर्ने मत राखिरहेका छन् ।

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन महोत्तरीको सोनमा गाउँपालिकाबाट बिहान ५ बजे चितवन आइपुगेका छन् डा. अशोककुमार यादव । नीति र नेतृत्व चयन गर्न उनीसहित २५ जनाको टोली महोत्तरीबाट आएको हो ।

स्थापनाको ४ वर्षमा पहिलो शक्ति बनेको रास्वपाको महाधिवेशनस्थल गेस्ट हाउस चौरमा आइपुगेका उनीहरू नयाँ नेतृत्व चयन गर्न आतुर छन् ।

‘नयाँ नेतृत्वले सुशासन कायम गर्न सक्नुपर्छ । चुनावमा पनि बेथिति अन्त्य गर्ने भनेर मत पाएको हो,’ यादवले भने, ‘मधेशमा शिक्षा, स्वास्थ्य र कृषिको समस्या छ । यसमा निलो क्रान्ति आवश्यक छ । मतबाट क्रान्ति भयो अब व्यवहारमा लागु गर्ने नेतृत्व महाधिवेशनबाट आउनु पर्छ ।’

सामाजिक न्यायको मुद्दा बोक्ने नीति र नेतृत्व चाहेका छन् प्रतिनिधिले । ‘महिला हिंसा तथा दाइजोको समस्या व्यापक छ । अब स्थानीय र प्रदेशसभा चुनावमा पनि अहिलेको जस्तै जित निकाल्ने पार्टी बनाउनु छ । त्यसपछि तीन तहमा नै सामाजिक न्यायमा काम गर्न सजिलो हुने विश्वास छ,’ उनले भने ।

महोत्तरीबाटै आएका राजाबाबु सहनीले दलित वर्गको नेतृत्व गर्ने नेता चाहेका छन् । ‘गरिब, दलित, पिछडिएको वर्गलाई एकसाथ अगाडि लैजानु पर्छ,’ उनले भने, ‘त्यसैले समावेशी हिसाबले नेतृत्व चयन हुनुपर्छ ।’

रास्वपाको महाधिवेशन प्रतिनिधि बनेर आएकी छिन् महोत्तरीकै माको यादव । उनी बिहान ५ बजे नै चितवन झरेकी हुन् । ‘दु:ख-सुखमा साथ दिने नेतृत्व आउनु पर्छ । देशलाई बुझेको, विकास गर्ने नेता हुनुपर्छ,’ उनले भनिन् ।

देशदेखि विदेशमा रहेका नेपाली प्रतिनिधिहरू यहाँ आइपुगेका छन् । चौरमा नेतृत्वबारे विमर्श गरिरहेका छन् । सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह मिलेर जानुपर्ने मत प्रतिनिधिहरूको छ ।

‘एकताको महाधिवेशन बनाउनु परेको छ । बालेन शाहको नेतृत्वमा सरकार बनेको छ । सभापति रवि लामिछानेले पार्टीको नेतृत्व गरेर जानुपर्छ,’ सिरहाबाट आएका प्रतिनिधि अनिलकुमार यादवले भने ।

देशको सीमा रक्षा गर्ने नीति र नेतृत्व आवश्यक देख्छन् उनी । ‘रास्वपा लोकतान्त्रिक पार्टी बन्नुपर्छ । जनताको जीवनस्तर उकास्नु पर्छ । देशको सीमा रक्षा गर्ने नेतृत्व हुनुपर्छ,’ उनले भने ।

कर्णालीको जुम्लाबाट प्रतिनिधि बनेर आएका हुन् मीनराज आचार्य । उनी पार्टीको नेतृत्वमा निर्विकल्प रवि लामिछाने आउनु पर्ने मत राख्छन् । ‘पार्टीको निर्विकल्प सभापति लामिछाने हो,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रमा प्रतिबद्ध हुने नीति रास्वपाले लिनु पर्छ ।’

पिछडिएको वर्ग र समुदायलाई बोक्ने नेतृत्व चाहेका छन् प्रतिनिधिले । ‘पिछडिएका दुर्गम गाउँको सुधार गर्नुपर्छ । कर्णालीलाई उच्च प्राथमिकता दिनु पर्छ । पार्टी केन्द्रमा कर्णालीको प्रतिनिधित्व हुनुपर्छ,’ उनले भने ।

सप्तरीको सप्तकोशी नगरपालिका-२ बाट आएका महाधिवेशन प्रतिनिधि नारायणप्रसाद लुइँटेल युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्ने खालको नीति पार्टीले लिनुपर्ने र सरकारमार्फत लागु गराउनुपर्ने धारणा राख्छन् ।

‘भुइँमान्छेको जीवनस्तर उकास्ने नीति लिनुपर्छ,’ विगतका दलहरूको विकृतिलाई फेरि रास्वपाले दोहोर्‍याउनु हुँदैन,’ उनले भने ।

नेपाल आर्मीबाट निवृत्त भएपछि सप्तकोशी नगरपालिका सभापतिको समेत जिम्मेवारी सम्हालेका लुइँटेल रास्वपाले जनताको अपेक्षाअनुसार काम गर्न नसके जनताले विकल्प खोज्ने तर्क गर्छन् । ‘रास्वपा नेतृत्वको सरकारले ५ वर्ष नै सरकार चलाए देशमा विकास र समृद्धि एवं सुशासन कायम हुन्छ,’ उनको विश्वास छ ।

महाविधेशन उद्घाटन समारोहमा भेटिएका लमजुङ मध्यनेपाल नगरपालिकाका महाधिवेशन प्रतिनिधि विजयरञ्जन पौडेलले रास्वपाले अहिले पनि पार्टीको आकार नलिएकोले महाधिवेशनपछि मात्रै पार्टी बन्ने बताए ।

‘अहिले त खिचडी जस्तो छ । पूरै अव्यस्थित देखिन्छ । पार्टीको विधानमा पूरै परिवर्तन गर्नुपर्छ । समावेशी हुनुपर्छ । बन्द सत्रको हलमा विधानका बारेमा टिप्पणी गर्ने सोच बनाएको छु,’ उनले भने । लमजुङबाट २९ जना प्रतिनिधिसहित आएका पौडेलले चितवनको महाविधेशन अविश्मरणीय बन्ने बताए ।

महाविधेशनमा सहभागी हुन साथीहरूसहित आएकी मोरङ उपसभापति बिमला बस्नेत महिलालाई विधानमा विशेष व्यवस्था गर्नुपर्ने बताउँछिन् । रास्वपाको विधानमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने माग उनको छ ।

‘हामीले ३३ प्रतिशत हैन, ५० प्रतिशत महिला प्रतिनिधित्व र सहभागिता हुनुपर्छ भनेका छौँ,’ बिमला भन्छिन्, ‘जिल्ला र प्रदेशको अधिवेशनमा पनि हामीले यो माग जोडतोडले उठाएका छौं, हलमा पनि उठाउँछौं ।’

पार्टी भित्रका कमी-कमजोरी र नराम्रा कुराहरूलाई हटाउने थलो नै महाधिवेशन भएको उनको बुझाइ छ । चितवनमा गर्मी ज्यादै भए पनि माया र स्वागत मन परेको बिमलाले बताइन् ।

रास्वपाको महाधिवेशनमा ४ हजार १०० हाराहारी प्रतिनिधि छन् । उनीहरूले नयाँ नेतृत्व चयन गर्ने छन् । महाधिवेशनले १५१ सदस्यीय केन्द्रीय समिति बनाउने छ । जसमा सात प्रदेशका सभापति पदेन सदस्य हुँदा १५८ जनाको केन्द्रीय समिति हुनेछ । पदाधिकारी १९ जनाको हुनेछ ।

सभापति, वरिष्ठ नेता, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५ जनाको व्यवस्था गरिएको छ । उपसभापति १ र सहमहामन्त्री १ जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।

पदाधिकारीमा कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुने गरी विधानको व्यवस्था गरिएको छ । कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता मनोनीत हुने छन् । आइतबार उद्घाटन भएपछि महाधिवेशन नेतृत्व चयनमा प्रवेश गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस