
काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनबाट नया नेतृत्वको चयन गर्दा पार्टीमा विभिन्न संघ-संगठनबाट समायोजन भएर आएकाहरुलाई चुनावी प्रक्रिया बाहिरैबाट समेट्ने भएको छ । पार्टी प्रवेश गरेको छोटो समयमै चुनावी प्रतिस्पर्धामा उत्रिन कठिन हुने भएकाले उनीहरूलाई सभापतिले मनोनीत गरेर ल्याउने रणनीति अपनाइएको हो ।
आमनिर्वाचन अघि बालेन, विवेकशील साझा, खगेन्द्र सुनुवार, थरुहट लगायत विभिन्न समूहबाट रास्वपामा प्रवेश गरेका थिए । उनीहरुमध्ये केहीले सरकार र संसदमा प्रतिनिधित्व गरिरहेका छन् । तर, पार्टीमा क्रियाशील रहेर कुनै अवसर नपाएकाहरुलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरिएको छ । यसैका लागि पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय पुर्याइएको हो ।
हिजो बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजन भएर आएका नेता-कार्यकर्ताहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
