रास्वपा महाधिवेशन : पाँच दलका शीर्ष नेता एउटै मञ्चमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (२ घण्टा अघि)
  • ४३ पटक पढिएको
रास्वपा महाधिवेशन : पाँच दलका शीर्ष नेता एउटै मञ्चमा

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा आजबाट सुरु हुने पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका छन्।

रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत उद्घाटन सत्रमा सहभागी हुने निश्चित भएको जनाइएको छ। रास्वपाको महाधिवेशन भएकाले अन्य दलका अध्यक्षहरू शुभकामना मन्तव्य दिन कार्यक्रममा सहभागी हुन लागेका हुन्।

त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम रहेको छ। यससँगै पाँच राजनीतिक दलका अध्यक्षहरू एउटै मञ्चमा देखिने भएका छन्।

महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहको समेत सहभागिता रहने बताइएको छ। रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले महाधिवेशनको उद्घाटन घण्टी बजाएर कार्यक्रमको शुभारम्भ गर्ने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन २०७९ हुनुभन्दा केही महिना अघि मात्र स्थापना भएको रास्वपाले उक्त निर्वाचनमा २० सिट जित्दै चौथो ठूलो दलका रूपमा आफूलाई स्थापित गरेको थियो। त्यसपछि गत फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत रास्वपाले उल्लेखनीय जनमत प्राप्त गर्दै पहिलो पार्टी बन्न सफल भएको दाबी गरिएको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई नेपाली राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। विभिन्न दलका शीर्ष नेताहरूको एकै मञ्चमा उपस्थिति र समसामयिक राजनीतिक सन्देशका कारण महाधिवेशनले राष्ट्रिय राजनीति तात्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस