लियोनल मेस्सी : ‘रिटायरमेन्ट’ घोषणादेखि कीर्तिमानसम्म

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ९, मंगलबार (१३ घण्टा अघि)
  • २७ पटक पढिएको
लियोनल मेस्सी : ‘रिटायरमेन्ट’ घोषणादेखि कीर्तिमानसम्म

काठमाडौं, ०९ असार। सन् २०१६ मा लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए ।

कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि, जहाँ मेस्सी पेनाल्टीमा चुकेका थिए, अर्जेन्टिनाले नौ वर्षमा चौथो पटक ठूलो प्रतियोगिताको फाइनल गुमाएको थियो । त्यसपछि उनी थप पीडा सहन नसक्ने अवस्थामा पुगे ।

त्यतिबेला मेस्सीले भनेका थिए, ‘मेरो लागि राष्ट्रिय टोलीको यात्रा समाप्त भयो । मैले सक्दो सबै गरें । च्याम्पियन बन्न नसक्नु निकै पीडादायी छ ।’

तर पछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास फिर्ता लिने घोषणा गरे । उनको यो निर्णयले मेस्सी र अर्जेन्टिनाका लागि स्वर्णिम सफलताको युग सुरु गर्‍यो ।

१० वर्षपछि, आफ्नो ३९औँ जन्मदिन आउन दुई दिन बाँकी हुँदा, उनी अझै पनि वर्तमान विश्व विजेता अर्जेन्टिनाका लागि खेलिरहेका मात्र छैनन्, विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि बनेका छन् भन्ने कुरा कल्पना गर्न कठिन छ ।

अर्जेन्टिनाले पछिल्ला दुईवटा कोपा अमेरिकाको उपाधि जित्यो । सन् २०२२ मा कप्तान मेस्सीले टोलीलाई विश्वकप उपाधिसम्म पुर्‍याए । प्रतियोगिताभर सात गोल गरेका उनले फाइनलमा मात्र दुई गोल गरे र अर्जेन्टिनाले सन् १९८६ पछि पहिलोपटक तथा समग्रमा तेस्रो विश्वकप जित्यो ।

सोमबार राति डिएगो म्याराडोनाले इङ्गल्याण्डविरुद्ध क्वार्टरफाइनलमा दुई गोल गरेको ४० वर्ष पूरा भएकै दिन, मेस्सीले फेरि फुटबल इतिहासका रेकर्डहरू पुनर्लेखन गरे । अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध २–० को जित निकाल्दा दुवै गोल मेस्सीले गरे ।

बीबीसीका कमेन्टेटर स्टिभ बोवरका अनुसार त्यो ‘मेस्सीको अर्को अमर क्षण’ थियो ।

अष्ट्रियाविरुद्धको खेलपछि मेस्सीले भने, ‘म खेल्न र मैदानमा रमाउन मन पराउँछु । समर्थकहरूलाई यस्तो खुसी दिन पाउँदा हामीलाई पनि आनन्द लाग्छ ।’

‘हामी मेस्सीको गतिसँग हिँड्न सक्दैनौं’

अष्ट्रियाविरुद्धको खेलमा आठौं मिनेटमा पाएको पेनाल्टीमा मेस्सी चुकेका थिए । यो उनको राम्रो सुरुआत थिएन । तर त्यसको ३० मिनेटपछि उनले गरेको लो–स्ट्राइक गोलले सबै कुरा बदलिदियो । त्यो उनको विश्वकपमा १७ औँ गोल थियो, जसले उनलाई मिरोस्लाभ क्लोजलाई पछि पार्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनायो ।

१८औँ गोलका लागि पनि धेरैबेर कुर्नुपरेन । दोस्रो हाफको इन्जुरी समयमा उनले दुई रक्षकलाई छक्याउँदै बललाई जाली चुमाए ।

स्पेनी फुटबल पत्रकार गिलेम बालागेले बीबीसी रेडियोसँग भनेका छन्, ‘हामीसँग लियोनल मेस्सीका मूर्ति बनाउन वा अखबारमा उनको गहिरो विश्लेषण गर्नसमेत समय छैन । हामी उनको गतिसँगै हिँड्न सक्दैनौं ।’

अब मेस्सीले २८ विश्वकप खेलमा १८ गोलको कीर्तिमान रचेका छन् । उनले अझ गोल थप्ने सम्भावना पनि उत्तिकै बलियो छ । किनभने उनले विश्वकपमा थप खेल खेल्न बाँकी छ ।

अन्तर्राष्ट्रिय फुटबलमा फर्किएपछि मात्र उनले विश्वकपमा १३ गोल गरिसकेका छन् ।

अझ रोचक कुरा त के छ भने, उनका १८ विश्वकप गोलमध्ये १२ गोल उनले ३५ वर्ष उमेर पार गरेपछि गरेका हुन् । तीमध्ये १४ गोल बायाँ खुट्टाबाट र चार गोल पेनाल्टी क्षेत्र बाहिरबाट भएका छन् ।

फुटबल पत्रकार बालागे भन्छन्, ‘उनी खेलको आनन्द लिइरहेका छन्, र यही सबैभन्दा महत्वपूर्ण कुरा हो । मैले यस्ता विश्वकप पनि देखेको छु जहाँ उनी ९० मिनेट टिक्न सक्दैनथे । अहिले भने खेलको अन्त्यसम्म अरू खेलाडीझैं दौडिरहेका हुन्छन् । उनले आफ्नो शरीरलाई राम्ररी बुझेका छन् ।’

उनले थपे, ‘मेस्सीलाई दौडिन आवश्यक पर्दैन। रक्षकलाई छल्न उनलाई तीव्र गति पनि चाहिँदैन । उनी बुद्धिमत्ताले खेल्छन् । मलाई लाग्छ, हामी उनलाई चार वर्षपछि पनि खेलेको देख्न सक्छौं ।’

के मेस्सी फुटबल इतिहासकै महान खेलाडी हुन् ?

मेस्सीका तथ्यांकहरू झन् प्रभावशाली बन्दै गएका छन् । उनले यस विश्वकपमा अर्जेन्टिनाका सबै पाँच गोल गरेका छन् र गोलकर्ताको सूचीमा दोस्रो स्थानभन्दा दुई गोलले अगाडि छन् । दोस्रो स्थानमा फ्रान्सका किलियन एमबाप्पे छन् ।

अष्ट्रियाविरुद्ध गोल गर्दै मेस्सी लगातार ६ विश्वकप खेलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि यो उपलब्धि जस्ट फोन्टाइन (१९५८) र जाइरजिन्हो (१९७०) ले हासिल गरेका थिए ।

उनले प्रतियोगिताको इतिहासमै सबैभन्दा धेरै अवसर सिर्जना गर्ने (७६) खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

विश्वकपका पछिल्ला छ खेलमा उनी १२ गोलमा प्रत्यक्ष संलग्न भएका छन् । उनले १० गोल र दुई असिस्ट गरेका छन् ।

पूर्व वेल्स डिफेन्डर एसले विलियम्सले भनेका छन्, ‘के हामी इतिहासकै महान खेलाडीलाई हेरिरहेका छौं ? सम्भव छ, र यो बहसयोग्य विषय हो । सायद हामीले अहिले फुटबलले देखेको सबैभन्दा महान खेलाडीलाई प्रत्यक्ष देखिरहेका छौं ।’

पूर्व इंग्ल्यान्ड मिडफिल्डर ड्यानी मर्फी पनि यो कुरामा सहमत छन् । उनी भन्छन्, ‘लियोनल मेस्सीको फुटबल बौद्धिकता असाधारण छ । मैले देखेको सबैभन्दा उत्कृष्ट खेलाडी उनी नै हुन् ।’

सन् २०१८ का विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ओलिभर जिरोर्डका अनुसार मेस्सी शारीरिक रूपमा समस्यामा देखिँदैनन् । ‘स्वस्थ जीवनशैलीलाई मेस्सीले राम्रोसँग व्यवस्थापन गरेका छन्,’ जिरोर्ड भन्छन्, ‘अन्यथा यति लामो समय उच्चस्तरमा खेल्न सम्भव हुँदैन । मेस्सी अविश्वसनीय छन् ।’

तर के अर्जेन्टिना मेस्सीमै अत्यधिक निर्भर छ ?

बीबीसी रेडियो फाइभ लाइभमा बोल्दै पूर्व इंग्ल्यान्ड स्ट्राइकर क्रिस सटनका अनुसार अर्जेन्टिनाका लागि फेरि एकपटक मेस्सीले ‘जादू’ गरे ‘यो कुरा केवल गोलको होइन, टोलीमा उनको समग्र योगदानको हो,’ क्रिस सटन भन्छन्, ‘मेस्सीले टोलीको खेललाई जोडेर राख्छन् । ठूला क्षणका लागि उनी नै मुख्य खेलाडी हुन् ।’

तर अर्जेन्टिनाका पूर्व व्यावसायिक फुटबल खेलाडी तथा हाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक (हेड कोच) लियोनल स्कालोनीका लागि मेस्सीबाहेक अन्य खेलाडीहरूले गोल नगर्नु चिन्ताको विषय हुनुपर्छ ।

त्यसैले मेस्सीको रिटायर्ड घोषणादेखि विश्वकपमा रेकर्ड गोलसम्मको अवधिलाई हेर्दा प्रश्न उब्जिन सक्छ, ‘अर्जेन्टिना सधैं मेस्सीमाथि मात्र भर पर्न सक्छ त ?’

असफलतामा पनि रेकर्ड

मेस्सीका सफलतामा मात्र होइन असफलतामा पनि रेकर्ड बनेका छन् । अष्ट्रियाविरुद्धको खेलमा लाउटारो मार्टिनेजलाई फाउल गरेपछि अर्जेन्टिनाले पाएको पेनाल्टी मेस्सीले मिस गरे ।

यससँगै सन् २०२६ विश्वकपमा पेनाल्टी मिस गर्ने उनी पहिलो खेलाडी बनेका छन् । सबैभन्दा धेरै पेनाल्टी प्रहार (७) र सबैभन्दा धेरै मिस (३) गर्ने खेलाडी पनि मेसी नै बनेका छन् (पेनाल्टी सुटआउट बाहेक) ।

उनले अर्जेन्टिनाले पाएका ३१ पेनाल्टीमध्ये ६ वटा मिस गरेका छन् ।

सोमबार राति अष्ट्रियाविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि मेसीले भनेका छन्, ‘मैले त्यसलाई धेरै नराम्रो रूपमा लिएँ, तर सौभाग्यवश हामीले स्थिति उल्ट्याउन सक्यौं, अग्रता लिन सफल भयौं र तीन अंक हासिल गर्‍यौं ।’ तर उनले दुई गोल गरेर त्यसको क्षतिपूर्ति गरे ।

यो अर्जेन्टिनाका लागि उनको पहिलो प्रतिस्पर्धात्मक खेल हो जहाँ उनले पेनाल्टी मिस गरेपछि पनि गोल गर्न सफल भएका छन् ।

इङ्गल्याण्डका पूर्व मिडफिल्डर ड्यानियल मर्फी मेस्सी पनि मान्छे नै भएकाले गल्ती हुनु स्वाभाविक भएको बताउँछन् । तर उनलाई पेनाल्टीबाट नभइ खुला खेलबाट गोल गरेर रेकर्ड बनाउने भाग्यमा लेखिएको थियो ।

मर्फी मजाक गर्दै भन्छन्, ‘मेस्सीले सायद जानाजानी पेनाल्टी मिस गरेका हुन् जस्तो लाग्छ, सायद रेकर्ड तोड्ने क्षण अझ राम्रो गोलका लागि तय गरिएको थियो ।’

दक्षिण अमेरिकी फुटबल विशेषज्ञ टिम विकरीको भनाइ पनि मर्फीको जस्तै छ । उनी भन्छन् ‘फुटबलका देवताहरूले उनलाई पेनाल्टीबाट रेकर्ड तोडाउन चाहेनन्, उनीहरूले चाहन्थे कि उनले खुला खेलबाट गोल गरेर त्यो रेकर्ड तोडुन् ।’

मेस्सीले धेरै रेकर्डहरू राखिसकेका छन्, तर अझै तोड्ने मौका बाँकी छ । अर्को सूचीमा विश्वकपमा सबैभन्दा धेरै असिस्टको रेकर्ड पनि मेस्सीकै भागमा पर्न सक्छ, जहाँ मेस्सी अहिले माराडोनासँग आठ–आठको बराबरीमा छन् ।

आइतबार हुने समूह चरणको अन्तिम खेलमा जोर्डनसँगको खेल मेस्सीका लागि फेरि अर्को ऐतिहासिक उपलब्धि बनाउने अवसर हुनसक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस