
काठमाडौं, १० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहान ९ बजेदेखि हुने भनिएको मतदान लम्बिने भएको छ। ९९ जना केन्द्रीय सदस्य पदको लागि हुने निर्वाचनमा अहिलेसम्म निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन।
खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने हुन्छ। तर आयोगले उम्मेदवारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढेको प्राविधिक नवराज पाण्डेले जानकारी दिए।
‘बिहान ४ बजेसम्म काम गरेर सबै प्राविधिक कुरा मिलाई सकेका छौं। आयोगबाट उम्मेदवारको लिस्ट आउने बित्तिकै क्लस्टरको आधारमा अगाडि सेटिङ मिलाउँ छौँ। सबै प्रक्रिया मिलाउँदा ढिलो हुन्छ’, पाण्डेले भने।
मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने उनले जानकारी दिए। ९९ केन्द्रीय सदस्य पदका लागि ४०० बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ। मतदानमा झन्डै ४५ सयको हाराहारीमा छ। यदि सबैले मतदान गरेमा कम्तीमा १५ देखि बढीमा २० घण्टासम्म लाग्ने पाण्डेको भनाई छ।
आयोगले मतदानका लागि दुई वटा प्रक्रिया अवलम्बन गरेको छ भने प्रवासका लागि एपबाट हुनेछ। सभापतिमा रवि लामिछाने निर्विरोध भैसकेका छन्। पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुनेछ।
रास्वपामा १९ पदाधिकारी र १ सय ५१ सदस्य केन्द्रीय समितिको व्यवस्था छ। रास्वपाले मतदानको लागि राम–लक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ। मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको पाण्डेले जानकारी दिए।
