
काठमाडौं, ११ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा जारी मतदानमा लापरवाही गरिएको भन्दै असन्तुष्टि बढेको छ ।
मतदान गर्दा उम्मेदवारको नाम वर्णानुक्रमअनुसार नभएको भन्दै केन्द्रीय सदस्यका उम्मेदवारहरूले नै आपत्ति जनाइरहेका छन् ।
भूगोलबाट केन्द्रीय सदस्य उम्मेदवार बनेका एक नेताले अनलाइनखबरसँग भने, ‘भोटिङ मेसिनमा उम्मेदवारको नाम वर्णानुक्रम अनुसार पनि छैन । उम्मेदवारी दर्ता गर्दाको क्रम अनुसार पनि छैन ।’
उनले भूगोलबाट छानिने ३५ जना बाहेकका ६४ जनाको ‘क्लस्टर’ पनि नछुट्टयाए पनि बताए । ‘६४ जनामा को–कोलाई भोट हाले म उम्मेदवारलाई नै थाहा छैन,’ ती उम्मेदवारले भने ।
अर्का उम्मेदवार उत्तमप्रसाद पौडेलले उम्मेदवारको नामावली प्रकाशन गर्दा नेपाली लिपी र अंग्रेजी अल्फाबेट नमिलाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
‘उमेदवार नामावली देखेर तीनछक परेँ म त । न नेपाली लिपीमा क्रम छ, न अंग्रेजी अल्फाबेटमा मिलाएको छ,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘न त सुरुमा दर्ता गरेकाको नामअनुसार भएको छ ।’
नेता पौडेलले नामावली प्रकाशनको तरिकाबारे नेतृत्वसँग जिज्ञासा पनि राखेका छन् । ‘कुन तरिका हो यो नामावली प्रकाशनको ?,’ प्रश्न गर्दै उनले सोधेका छन्, ‘कि जसो गरे पनि हुन्छ भन्ने हो नयाँले ?’
पौडेलले उम्मेदवारको नामावली प्रकाशनको शैलीप्रति जिज्ञासा चितवनको गर्मीजस्तै बढेको पनि टिप्पणी गरेका छन् । ‘जिज्ञासा बढ्यो के चितवनको गर्मी जस्तै,’ उनले लेखेका छन्, ‘बुझिन मैले बुझाइदेउ कसैले ।’
अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत : रास्वपा सांसद रेग्मी
रास्वपाका सांसद धनञ्जय रेग्मीले महाधिवेशनमा देखिएको लथालिङ्गप्रति ईंगित गर्दै पदाधिकारीले अन्तर्राष्ट्रिय जगतमा पार्टीको बेइज्जत गरेको टिप्पणी गरे ।
‘जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन्,’ स्याङ्जा १ बाट निर्वाचित सांसद रेग्मीले भने, ‘त्यसले (तिनले) अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गरेका छन् ।’
नेतृत्वको विरूद्धमा बोल्न नहुने विषय बोलिरहेको भन्दै रेग्मीले अब आफू निर्वाचनमा पराजित हुने पनि आशंका व्यक्त गरे । ‘यत्ति भनेपछि मलाई थाहा छ, धेरैले मत दिन्नन् । म हारी नै हाल्छु,’ उनले भने, ‘यति बोल्नै नहुने थियो तर, बोली हालियो ।’
सांसद रेग्मीले भरतपुरमा बेथिति देखिएको भन्दै यसरी देश चलाउन नसकिने पनि नेतृत्वलाई स्मरण गराए । ‘यति बेथिति गरेर हामीले देश चलाउन सक्दैनौं है साथीहरू,’ उनले भने, ‘मैले आजै भन्दिएको छु ।’
नेता चुन्न गाह्रो : आशिका तामाङ
सांसद आशिका तामाङले आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो परेको बताएकी छन् । इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत् मतदान गरेपछि अनलाइनखबरसँग कुरा गर्दै उनले नचिनेका/नजानेकालाई पनि मतदान गर्नै पर्ने अवस्था रहेको बताइन् ।
मेसिनमा भोट संकेत नगरी अर्को स्टेपमा जानै नपाइने सिस्टम रहेको बताउँदै सांसद तामाङले भनिन्, ‘आफूले चाहेर पनि आफ्नो नेतालाई चुन्नलाई चाहिँ अलिकता गाह्रो भयो ।’ नचिनेका/नजानेकालाई भोट हाल्दिनँ भन्न नपाइने अवस्था रहेको उनको भनाइ थियो ।
‘भोटिङको सिस्टम जुन राख्नु भएको छ– महिला, समावेशी अथवा खुला–महिला भनेर जुन भनिएको छ, त्यो अनुसारको छैन त्यहाँ,’ तामाङले भनिन्, ‘मन लागोस् कि नलागोस् ६४ जनालाई तपाईंले हाल्नै पर्ने । त्यो नहालीकन नेक्स्टमा जानै नपाइने ।’ उनले आफ्नै नाम खोज्न पाँच मिनेट जति समय लागेको पनि बताइन् ।
अछामका एकेन्द्रप्रसाद देवकोटाले पनि नचिनेकालाई जथाभावी भोट हालेर आएको बताए । उनले भने, ‘६४ जना खुल्लाबाट छ । ६४ जनामा हामी सबैलाई चिन्दैनौं नि त । चिनेजतिको राम्रा राम्रा सम्भावित व्यक्तिहरु जो छन्, तिनीहरुलाई भोट हालियो । नचिनेकोलाई घचाघच हालेर आएको हो ।’
नो भोटको धज्जी : सांसद खत्री

यसैबीच रास्वपा सांसद राजीव खत्रीले आफ्नो पार्टीको महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् ।
आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले मतदान व्यवस्थापनको आलोचना गरेका छन् ।
२१ फागुनको निर्वाचनमा भक्तपुर २ बाट प्रतिनिधि सभा सांसद चुनिएका खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । NO VOTE को धज्जी ।’
यसैबीच महाधिवेशनका प्रतिनिधिहरूलाई उम्मेदवारको नामको चिट ह्वाटसएपमा आउन थलेपछि पनि असन्तुष्टि बढेको छ । ‘धमाधम नाम आइरहेको छ । गुट छैन भनेर सभापति र वरिष्ठ नेताले भन्नुभयो,’ एक प्रतिनिधिले अनलाइनखबरसँग भने, ‘तर, फरक–फरक नामको सूची आइरहेको छ ।’
महाधिवेशनस्थलमा अनलाइनखबरसँग कुरा गर्दै एक प्रतिनिधिले मतदानमा भद्रगोल भएको विषयमा कुरा गर्दै नयाँ भनिएको दलको पनि पुरानै पारा भएको टिप्पणी गरे ।
