१५ वर्षदेखि परदेशमै थुनिएका मृगेन्द्र : दुर्घटनापछि रोकियो घरफिर्ती

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ११, बिहिबार (२ घण्टा अघि)
  • ५२ पटक पढिएको
१५ वर्षदेखि परदेशमै थुनिएका मृगेन्द्र : दुर्घटनापछि रोकियो घरफिर्ती

काठमाडौं, ११ असार। विमानस्थलको अध्यागमन पार गरेर स्वदेश फर्किने जहाज चढ्न पाउनु वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि उत्सवझैँ हुन्छ ।

साउदी अरब पुगेका सप्तरीको सुरुङ्गा नगरपालिका–४ का मृगेन्द्र कुमार मण्डलका लागि पनि यहीं उत्सवको दिन नजिकिएको थियो । दुई वर्षको कडा परिश्रमपछि घरमा कुरिरहेका परिवारसँग भेट हुने आशले उनको मनमा खुसी छाएको थियो ।

तर, जब विमानस्थलको काउन्टरमा उनको पासपोर्ट स्क्यान गरियो, कर्मचारीको एउटै वाक्यले उनलाई झस्क्यायो। ‘तपाईमाथि यात्रा प्रतिबन्ध छ, नेपाल जान पाउनुहुन्न’ विमानस्थल कर्मचारीले भनेको यो वाक्यपछि नेपाल फर्किने, परिवार भेट्ने तथा खुसी साट्ने इच्छा अपूरो रह्यो । उनको अहिले जीवन नै फेरिएको छ । कहिले साउदी अरबको सडक त कहिले मस्जिदका कुनामा मगन्ते जीवन बिताइरहेका छन् ।

त्यो एउटा दुर्घटना, जसले १५ वर्षपछि जीवन उल्टाइदियो

१५ वर्षअघि साउदीमा उनी जेल परेका थिए । साउदी पुगेर गाडी चालकको रूपमा काम थालेका मृगेन्द्रको जिन्दगी सामान्यचल्दै थियो । तर, एक दिन उनको गाडी दुर्घटनामा पर्‍यो । दुर्भाग्यवश, उक्त दुर्घटनामा परेर एक जोर्डन नागरिकको मृत्यु भयो । साउदीस्थित रफामा रहेको अदालतले उनलाई दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनायो ।

६ वर्षको सजाय भुक्तान गरेपछि कम्पनीले उनको ‘फाइनल एक्जिट’ (अन्तिम बहिर्गमन) को रुपमा टिकट काटिदियो र उनी सन् २०१८ तिर नेपाल फर्किए ।

फर्किएर करिब ५–६ वर्ष उनले गाउँघरमै मजदूरी गरेर जीवन बिताए ।  तर, गरिबीको रापले फेरि उनलाई पोल्न थाल्यो । ऋण र परिवारको जिम्मेवारीले उनलाई फेरि परदेशिन बाध्य बनायो । सन् २०२३ को मे महिनामा उनी पुनः साउदी अरब उडे । यसपटक उनले नयाँ कम्पनीमा २ वर्षसम्म इमानदारीका साथ गाडी चलाए ।

कम्पनीसँगको सम्झौता सकिएपछि उनी खुसी हुँदै झोला बोकेर नेपाल फर्किन विमानस्थल पुगेका थिए । विमानस्थलको अध्यागमन काउन्टरमा पासपोर्ट बुझाउँदा उनी झस्किए । सुरक्षाकर्मीले उनलाई रोक्दै भने, ‘तिमीमाथि यात्रा प्रतिबन्ध छ, नेपाल जान पाउँदैनौँ ।’

१५ वर्षअघिको दुर्घटनाको सजाय उनले ६ वर्ष जेल बसेर भुक्तान गरिसकेका थिए, त्यही मुद्दालाई ब्युँत्याएर अदालतले उनीमाथि ३ लाख ३० हजार साउदी रियाल (करिब १ करोड ३३ लाख रुपैयाँ) ‘ब्लड मनी’ (क्षतिपूर्ति) जरिबाना तोकेको छ । उक्त रकम नतिर्दासम्म उनी नेपाल फर्किन पाउने छैनन् । अहिले उनले साउदीमा न काम गर्न पाउँछन्, न नेपाल फर्किन । जबसम्म यो पैसा तिरिँदैन, तबसम्म उनी साउदी अरबबाट बाहिरिन नपाउने अदालतको फैसला छ ।

विमानस्थलबाट प्रतिबन्ध गरिएको थाहा पाएलगत्तै मृगेन्द्र न्याय र उद्धारको याचना गर्दै नेपाली दूतावास पुगे । दूतावासले आफ्नो पीडा सुनिदिने र कानुनी लडाइँमा सघाउने उनको ठूलो भरोसा थियो । तर, चाहनेअनुसारको सहयोग नपाएको उनी बताउँछन् ।

‘दूतावासमा गएर घर फर्किन नपाउँदासम्म खाना र आवासको व्यवस्था गर्न र घर फर्काउन अनुरोध गरेँ, तर, दूतावास कर्मचारीले बस्ने ठाउँ छैन भन्दै ढोका बन्द गरिदिए ’ उनले भने । वकिल राखेर आफैं मुद्दा लड्न दूतावासले भनेपछि उनी मर्माहत भए ।

‘मुद्दा लड्ने पैसा हुन्थ्यो भने किन दूतावासको सहयोग चाहिन्थ्यो र ?’ उनले अनलाइनखबरसँगको कुराकानीमा भने।

अदालत वा सम्बन्धित निकायले उनलाई जरिबानासम्बन्धी कुनै आधिकारिक कागजात समेत दिएको छैन । दूतावासले आवश्यक कानुनी तथा कूटनीतिक पहल नगरिदिँदा उनी अलपत्र परेका छन् । मृगेन्द्र हाल साउदीको सडकमा माग्दै, मस्जिदको चिसो भुइँमा सुत्दै दिन काटिरहेका छन् ।

केही नेपालीले उनीमाथि थप अत्याचार गरे, जसले एम्बेसीमा काम मिलाइदिने बहानामा केही रकम समेत लगिदिएको उनले बताए ।

यता सप्तरीमा रहेको परिवार उनको अवस्थापछि मर्माहत बनेको छ । परिवारले सरकार, परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायसँग जीवन रक्षा र उद्धारको माग गरेको छ।

दूतावासले भन्यो : घटनाबारे बुझ्दैछौं

साउदीको रियादस्थित नेपाली राजदूतावासले उनको घटनाका विषयमा बुझ्ने काम भइरहेको जनाएको छ । आजभन्दा १५ वर्ष अगाडिको घटना भएको भन्दै यो विषयमा साउदीस्थित सम्बन्धित निकायबाट बुझ्ने काम भइरहेको दूतावासले जनाएको छ ।

दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले घटनाको विषयमा साउदीका निकायबाट बुझ्ने काम भइरहेको र त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

‘१५ वर्ष पुरानो केस रहेछ । ६ वर्ष जेल पनि बस्नुभएको रहेछ’ उनले भने ‘पुनः कामका लागि साउदी आएर घर फर्किने क्रममा विमानस्थलले रोकिदियो । अहिले ब्लड मनी तिर्नुपर्ने भनेको छ, हामीले सुरुमा केस राम्ररी बुझेपछि थप प्रक्रिया अगाडि बढाउँछौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस