
काठमाडौँ, १४ असार । स्वास्थ्य बीमा बोर्डले गत महिना परिमार्जन गरी कार्यान्वयमा ल्याएको औषधी र प्रयोगशालाको दर रेटलाई सच्याउने तयारी गरेको छ ।
गत १६ जेठ देखि कार्यान्वयनमा ल्याएको परिमार्जित सुविधा थैलीमा सेवा प्रदायक संस्थाहरुबाट व्यापक गुनासो आएपछि स्वास्थ्य बीमा बोर्डले दर रेटलाई पुन: सच्याउने तयारी गरेको हो ।
खासगरी औषधी र औषधीजन्य स्वास्थ्य सामग्रीको दर रेट निकै न्युन भएको भन्दै गुनासो बढेपछि बोर्डले पुन: सुविधा थैलीको दर रेट अध्ययन गरी सुझाव दिन अर्को समिति बनाएको हो । सो समितिले नयाँ दर रेट प्रस्ताव गरिसकेको छ । अव बस्ने बोर्ड बैठकले अनुमोदन गरेपछि त्यसको कार्यान्वयन हुने बताइएको छ ।
बोर्डका अनुसार दुई साता अघि गठित समितिले गत महिना तय गरिएको सुविधा थैलीको दर रेट मध्ये ५०० बढी औषधी र ३० बढी प्रयोगशाला परीक्षणको दर रेटलाई परिमार्जन गर्दै नयाँ दर रेट प्रस्ताव गरेको छ । यो नयाँ दररेट २०८१ को दर रेट भन्दा कम तर गत १६ जेठमा लागू गरिएको दर रेट भन्दा केही बढी भएको बताइएको छ ।
‘दर रेट अत्यन्त न्युन भएको भन्दै सबै जसो सेवा प्रदायक संस्थाले सेवा दिन नसक्ने बताएपछि नयाँ कमिटि गठन गरी नयाँ दर रेट राखिएको हो । अहिले नयाँ दर रेट फाइनल भइसकेको होइन, प्रस्ताव गरिएको हो । अब बस्ने बैठकले यसलाई अनुमोदन गर्छ । त्यसपछि लागू हुन्छ,’ बोर्ड स्रोतले भन्यो ।
समितिमा बोर्डका प्रतिनिधि सहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, औषधी व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रतिनिधिहरुलाई राखिएको थियो ।
यस्तै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल लगायतका सेवा प्रदायक स्वास्थ्य संस्थाका प्रतिनिधिलाई पनि समितिमा राखिएको थियो ।
लामो समय देखि आर्थिक दायित्वले थिचिएको स्वास्थ्य बीमा कार्यक्रमलाई बोर्डमा आएको नयाँ नेतृत्वले गति दिन थालेको छ । बीमा र विपन्न नागरिकको उपचार सोधभर्नाको जिम्मा लिएको बोर्डले पछिल्लो समय भुक्तानीलाई प्राथमिकतामा राखेर काम गरेको देखिएको छ ।
परिमार्जित सुविधा थैलीलाई कार्यान्वयनमा ल्याएको नयाँ नेतृत्वले सरोकारवालाको गुनासोको समेत सम्वोधन गर्ने कोशिश गरेको देखिएको छ ।
