सिलिचोङमा पहिरोको कहर, ६ घर विस्थापित र विद्युत–यातायात अवरुद्ध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १५, सोमबार (१० घण्टा अघि)
  • ३१ पटक पढिएको
सिलिचोङमा पहिरोको कहर, ६ घर विस्थापित र विद्युत–यातायात अवरुद्ध

काठमाडौं, १५ असार। सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा लगातारको वर्षापछि आएको बाढीपहिरोले विद्युत, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएको छ ।

सिलिचोङ-१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ ।

वर्षापछि आएको भीषण बाढीपहिरोले सिलिचोङमा विद्युत,सञ्चार तथा यातायात सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए ।

बाढीपहिरोका कारण गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुनुका साथै केन्द्रीय विद्युत्, माइक्रो हाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित भएका कारण सरकारी सेवा प्रवाह समेत प्रभावित भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

पहिरोले गाउँपालिका भित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् । बाढीले स्थानीय दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ । माथिबाट खसेको पहिरोले सिलिचोङ-१ नेवाटारमा कालिका माध्यमिक विद्यालयका क्षति पुगेको छ ।

शनिबार राति माथिबाट खसेको पहिरोले कालिका माध्यमिक विद्यालयको १५ वटा कक्षा कोठा चिराचिरा परेको र तथा शैक्षिक सामग्रीमा क्षति पुगेपछि पठनपाठन समेत ठप्प भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनुभयो । कालिका माविका १७० जना विद्यार्थी अध्ययनरत छन् ।

त्यसैगरी सिलिचोङ -४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ । पहिरोले विद्यालय भवन तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुर्‍याएपछि दुई विद्यालयको पठनपाठन रोकिएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

पहिरोको उच्च जोखिममा परेकाले विद्यालयलाई पूर्ण रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

बाढी पहिरो प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

६ घर विस्थापित, १०० घर बढी जोखिममा

बाढी पहिरोका कारण सिलिचोङ -१ सिसुवाखोला ६ घर विस्थापित भएको छन् । विस्थापितलाई सुरक्षित स्थानमा राखिएको छ । पहिरोका कारण सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका १०० बढी घर उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

पहिरोको उच्च जोखिम भएपछि स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेको उनको भनाइ छ ।

पहिरोको जोखिम बढेपछि तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन् ।

स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको भए पनि सडक अवरुद्ध हुनु र निरन्तर वर्षा भइरहेका कारण तत्काल राहत तथा उद्धार व्यवस्थापनमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ । प्रभावित नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस