
काठमाडौं, १६ असार। कोशी प्रदेश बजेटलाई लिएर सत्तारुढ र असन्तुष्ट सांसदहरूबिचको विवाद समाधान हुन नसक्दा प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक स्थगित गरी आगामी असार १८ गते बिहीबारका लागि सारिएको हो। प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी सूचना अनुसार सरकारको अनुरोधमा बैठकको मिति परिवर्तन गरिएको हो।
यसअघि असार ११ गते बिहीबारका लागि निर्धारण गरिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर आजका लागि तय गरिएको थियो। तर बजेटमा देखिएको राजनीतिक असमझदारी कायमै रहेकाले सरकारकै आग्रहमा सभामुखले बैठक पुनः दुई दिन पछाडि धकेल्नुभएको हो।
‘मिति २०८३ साल असार ११ गते सूचना प्रकाशित गरी असार १६ गते मङ्गलबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको कोशी प्रदेश सभाको नवौँ अधिवेशनको १६औँ बैठक सरकारको अनुरोधमा उक्त समयमा बस्न नसक्ने भएकोले… सभामुखले बैठक सम्वत् २०८३ साल असार १८ गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ सचिवालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।
बजेट विनियोजन सन्तुलित नभएको र एकलौटी ढङ्गले ल्याइएको भन्दै सत्तारुढ गठबन्धन र प्रतिपक्षका असन्तुष्ट सांसदहरूले संशोधनको माग राख्दै आएका छन्। यसै विषयमा असन्तुष्ट सांसदहरू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच छलफल भए पनि कुनै सहमति जुट्न सकेन। नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार असन्तुष्ट सांसदहरूले बजेटलाई सन्तुलित बनाएर अनुसूचीमा समावेश गरी विनियोजन विधेयककै अङ्ग बनाउनुपर्ने अडान राखेका छन्।
‘मुख्यमन्त्रीज्यूले विनियोजन विधेयक पहिले ल्याउने प्रस्ताव गर्नुभयो। हामीले विधेयक ल्याउन ठिकै छ, तर बजेटलाई सन्तुलित बनाएर अनुसूचीमा समावेश गरी यसलाई विनियोजन विधेयककै अङ्ग बनाउनुपर्ने अडान राख्यौँ। तर मुख्यमन्त्रीज्यूले बजेट थपघट गर्ने कुरा पछि गरौँला भन्नुभयो। उहाँको यो प्रस्तावमा हामी सहमत हुन सकेनौँ,’ कार्कीले भने ।
मुख्यमन्त्रीको प्रस्तावलाई असन्तुष्ट सांसदहरूले अस्वीकार गरिदिएपछि प्रदेशसभाको बैठक प्रभावित बन्न पुगेको हो। असन्तुष्ट पक्षले आफ्ना माग सम्बोधन नभए संसद् चल्न नदिने चेतावनी दिएको छ।
‘यो विषयलाई सच्याएर ल्याउनुभएन भने छलफल अगाडि बढ्दैन। हामी स्पष्ट रूपमा विरोधमा उभिन्छौँ। हाम्रो माग सम्बोधन भएन भने एक जना मात्र भए पनि सदन चल्दा विरोधमा उभिन्छौँ,’ कार्कीले भने ।
मुख्यमन्त्री कार्कीले सबै पक्षसँग छलफल गरी निकास निकाल्नका लागि समय माग गरेपछि सरकारकै अनुरोधमा बैठक स्थगित गरिएको बुझिएको छ।
यसैबिच बैठक स्थगित भएपछि एमालेका सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले व्यंग्य गरेका छन् । ‘आज बस्ने प्रदेश सभाको बैठक किन पछाडी धकेलेछ भनेर जोखाना हेर्न लगाएको त मन्त्रीज्यूहरुको बजेट स्वाहा हुने डरले पो भन्छ त बाइ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
