सरकारका सय दिनबारे गगनको टिप्पणी: संवेदनशील विषयमा ‘लफङ्गो’ शैली चिन्ताजनक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २१, आईतबार (८ घण्टा अघि)
  • ४२ पटक पढिएको
सरकारका सय दिनबारे गगनको टिप्पणी: संवेदनशील विषयमा ‘लफङ्गो’ शैली चिन्ताजनक

काठमाडौं, २१ असार। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

वर्तमान सरकारका सय दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चिन्ता गर्नुपर्ने विषयमा पनि सरकारका मन्त्रीहरूबाटै आपत्तिजनक विषयहरू बोल्ने गरेको बताए ।

‘अहिले पनि प्रदेशको नामहरूको बारेमा समस्या छ । मुद्दाहरू छन् नि त । यो विषयहरूको सन्दर्भ नबुझिकन यसलाई बडो हल्कासँग, अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनुभएको छ एउटा कुरा बोलिदिनुभएको छ,’ सभापति थापाले थप व्याख्या गर्दै भने, ‘एउटाले एउटा थपिदिएको छ, अर्कोले एउटा ठोकिदिएको छ, अर्कोले एउटा खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ ।’

यस्ता संवेदनशील विषयहरूमा सरकार सञ्चालन गर्ने दलकै व्यक्तिहरूबाटै ध्यान नदिएको जिकिर गरे ।

‘यो सबै कुरा हेर्दा अर्को एउटा कुरा चिन्ता गर्नुपर्ने कुरा चाहिँ, संविधान बनाउने बेलाका हाम्रा नआन्सेसहरू र संवेदनशीलताहरूलाई सरकार सञ्चालन गर्ने दलका साथीहरूले पटक्कै ध्यान दिनुभएको छैन, त्यसलाई ख्याल गर्नुभएको छैन’ थापाले भने ।

आफूहरू संविधान संशोधनको पक्षमा भएको तर यसलाई हचुवाको भरमा गर्दा एकैछिनमा आगो बाल्नसक्नेतर्फ उनले सरकारलाई सचेत गराए ।

‘हामी संविधान संशोधन गर्ने पक्षमा नभएको होइन । बकाइदा गर्नुपर्ने छ । पुनरावलोकन गर्नुपर्ने छ । तर यसरी होइन, यस्तो हचुवा पाराले होइन । यहाँ त एकैछिनमा आगो बल्छ,’ थापाले भने, ‘अधिकारको विषय त्यतिबेलासम्म गौण हुन्छ, जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ । तर अधिकारको विषय चलाइयो भनेको बेलामा सबैभन्दा बढी महत्वपूर्ण विषय त्यतिबेला नै बन्छ । भाषाको विषय सबैभन्दा बढी महत्त्वपूर्ण विषय बन्छ । समावेशीताको विषय सबैभन्दा बढी महत्वपूर्ण विषय बन्छ ।’

सभापति थापाले विविधताहरूलाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्त्वपूर्ण हुने भन्दै जे मन लाग्यो त्यही पारामा नचल्न आग्रह गरे ।

‘हाम्रा विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । तर यी विषयहरूलाई बडो हल्का पाराले, म त भन्छु बडो लफङ्गो पाराले, जे मन लाग्छ, त्यही बोलिदिएको छ, जे मन लाग्छ त्यही गरिदिएको छ । यो अर्को एउटा चिन्ताको विषय हो,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस