बारामा किशोरीको शंकास्पद मृत्युपछि एक किशोर पक्राउ, दुर्व्यवहारको आरोपमाथि अनुसन्धान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २१, आईतबार (८ घण्टा अघि)
  • ७२ पटक पढिएको
बारामा किशोरीको शंकास्पद मृत्युपछि एक किशोर पक्राउ, दुर्व्यवहारको आरोपमाथि अनुसन्धान

काठमाडौं, २१ असार। बाराको कलैया उपमहानगरपालिका–२१ मा १३ वर्षीया किशोरीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। प्रारम्भिक प्रहरी अनुसन्धानमा गाउँका केही युवाबाट भएको दुर्व्यवहार, कुटपिट तथा सामाजिक सञ्जालमार्फत गरिएको सार्वजनिक अपमानपछि किशोरीले आत्महत्या गरेको देखिएको भन्दै प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार घटना असार १५ गतेको हो। प्रहरीका अनुसार किशोरी गाउँ नजिकैको सार्वजनिक स्थानमा आफ्ना दुई जना चिनजानका युवकसँग कुरा गरिरहेकी बेला केही युवाहरूको समूह त्यहाँ पुगेको थियो। उक्त समूहले किशोरी र ती युवकहरूमाथि गालीगलौज, दुर्व्यवहार तथा कुटपिट गरेको आरोप छ।

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको र त्यसपछि पनि केही व्यक्तिहरूले किशोरीको घरमै पुगेर अभिभावकको उपस्थितिमा मानसिक दबाब सिर्जना गरेको खुलेको जनाएको छ। त्यसको भोलिपल्ट अर्थात् असार १६ गते किशोरी आफ्नै घरमा मृत फेला परेकी थिइन्।

घटनापछि मृतककी आमाले संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दर्ता गराएकी थिइन्। सोही उजुरी तथा प्रारम्भिक प्रमाणका आधारमा प्रहरीले एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका किशोरविरुद्ध जबरजस्ती करणी तथा आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी बयान, डिजिटल प्रमाण तथा अन्य आवश्यक तथ्य सङ्कलनको काम भइरहेको र घटनामा संलग्न देखिएका अन्य व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको सबै पक्षबाट सूक्ष्म अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रमाणका आधारमा दोषी देखिने जोसुकैलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस