राप्रपाको प्रश्न : ‘प्रधानमन्त्रीले सदनका प्रश्नको जवाफ संसद्मा दिने कि महाधिवेशनमा ?’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २५, बिहिबार (९ घण्टा अघि)
  • ३८ पटक पढिएको
राप्रपाको प्रश्न : ‘प्रधानमन्त्रीले सदनका प्रश्नको जवाफ संसद्मा दिने कि महाधिवेशनमा ?’

काठमाडौं, २५ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ संसद्‌मा दिनुपर्नेमा पार्टीको महाधिवेशनबाट दिएको भन्दै आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै राप्रपाकी सांसद खुस्बु ओलीले राष्ट्रिय स्वाभिमान र सीमा जस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण माग गरिए पनि त्यसको जवाफ पार्टीको चितवनमा सम्पन्न महाधिवेशनबाट दिइएको भन्दै प्रश्न उठाइन्।

उनले प्रधानमन्त्रीले संसद्‌प्रति उत्तरदायी हुने संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सदनमा उठेका प्रश्नको जवाफ संसद्‌मै दिनुपर्ने धारणा व्यक्त गरिन्।

“के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो ? के सार्वभौम संसद् पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो ?” सांसद ओलीले प्रश्न गरिन्।

सांसद ओलीले संविधानले कार्यपालिकालाई संसद्प्रति उत्तरदायी बनाएको स्मरण गराउँदै संसद्को बेवास्ता गर्ने प्रवृत्तिले संसदीय लोकतान्त्रिक प्रणालीको औचित्यमाथि नै प्रश्न उठाएको बताइन्।

प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले त्यसले राष्ट्रिय स्वाभिमानमा असर पुगेको दाबी गरिन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा सर्वसम्मत रूपमा पारित भएको प्रसंग स्मरण गराउँदै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको मनोबल कमजोर बनाएको आरोप लगाइन्।

सांसद ओलीले राष्ट्रियताको विषयमा सत्ता पक्षका सांसदहरू मौन बसेको भन्दै पनि प्रश्न उठाइन्।

“इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र होइन, सत्ता पक्ष कहिले बोल्यो र कहिले मौन रह्यो भन्ने कुरा पनि लेख्नेछ। तपाईंहरूको मौनतालाई तीन करोड नेपाली जनताले कसरी बुझ्ने ?” उनले भनिन्।

प्रतिनिधिसभाको बैठकमा राप्रपाले प्रधानमन्त्रीको अभिव्यक्ति र त्यससम्बन्धी सरकारको जवाफप्रति प्रश्न उठाउँदै संसद्को सर्वोच्चता र सरकारको संसदीय उत्तरदायित्वको विषयलाई प्रमुख रूपमा उठाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस