सांसद तामाङको दाबी : स्वास्थ्य बीमा कार्यक्रम असफल भयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (२ घण्टा अघि)
  • २७ पटक पढिएको
सांसद तामाङको दाबी : स्वास्थ्य बीमा कार्यक्रम असफल भयो

काठमाडौं, ३० असार। प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले स्वास्थ्य बीमा असफल भएको दाबी गरेका छन् ।

संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

त्यसैगरी, नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गर्दै उनले यसको कारणबारे प्रश्न गरे ।

उनले बीमाको तथ्यांक, स्वास्थ्य बीमाको असफलता र व्यावसायिक घरानाको एकाधिकारका कारण सिर्जना हुनसक्ने वित्तीय जोखिमबारे सरकार र नियामक निकायको ध्यानाकर्षण गराए ।

सांसद तामाङले बीमाको पहुँचका सम्बन्धमा सरकारी दाबी र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको बताए ।

बीमाको पहुँच ५१ प्रतिशत पुगेको भनिए पनि व्यवहारमा २० प्रतिशतको हाराहारीमा मात्र देखिएको तर्क गर्दै उनले पहुँच विस्तारका लागि ठोस योजना आवश्यक रहेको बताए ।

बैठकमा सांसद तामाङले नेपालको अर्थतन्त्र सीमित व्यक्तिको नियन्त्रणमा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

एउटै समूहले बैंक, बीमा र उद्योग गरी तीनवटै क्षेत्रमा लगानी गर्दा स्वार्थको द्वन्द्व सिर्जना भएको उनको भनाइ छ ।

उनले करिब १०० परिवारले नेपालको अर्थतन्त्रलाई विभिन्न माध्यमबाट नियन्त्रणमा लिएको विश्लेषण सुनाउँदै इजाजतपत्र (लाइसेन्स) दिने बेलामा नै यी क्षेत्रहरूलाई अलग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मैले सबै क्षेत्रमा बुझ्दा नेपालको स्वास्थ्य बीमा असफल भएको पाएको छु । यो किन असफल भयो ? यसको जवाफ चाहिन्छ । एउटै व्यक्तिले उद्योग, बैंक र बीमामा हात हाल्दा एउटा क्षेत्र डुब्दा त्यसको असर अरू क्षेत्रमा पनि पर्ने देखियो । उद्योग घाटामा जाँदा बीमा र बैंक पनि प्रभावित हुने जोखिम छ । त्यसैले एउटा क्षेत्रमा संलग्न व्यक्तिलाई अर्को क्षेत्रमा लगानी गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नु आवश्यक छ, ताकि एउटा क्षेत्रको असफलताले समग्र अर्थतन्त्रमा ’मल्टिप्लायर’ असर नपरोस् ।’

कृषि बीमाको पहुँच न्युन रहेको विषयमा अन्य सांसदहरूले उठाएको धारणामा समर्थन जनाउँदै उनले बीमा क्षेत्रको समग्र सुधारका लागि नीतिगत स्पष्टताको माग गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस