एलपी ग्यासको विकल्पबारे रास्वपा सांसद पाठकको सरकारलाई प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३१, बुधबार (१३ घण्टा अघि)
  • ३२ पटक पढिएको
एलपी ग्यासको विकल्पबारे रास्वपा सांसद पाठकको सरकारलाई प्रश्न

काठमाडौं, ३१ असार। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले घरघरमा राखिएका ग्यास सिलिण्डरको सुरक्षा मापदण्डका विषयमा नागरिक स्तरमा त्रास रहेको बताएका छन् ।

बुधबार बसेको संघीय संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘एलपी ग्यास सिलिन्डरको सुरक्षा मापदण्डबारे नागरिकमा गम्भीर चासो छ । घरघरमा पुराना र जोखिमयुक्त सिलिण्डर प्रयोग भइरहेको भन्ने गुनासो आइरहेको छ । यसको व्यवस्थापन र नियमित परीक्षणका लागि के व्यवस्था गरिएको छ ? सिलिण्डरभित्र लेदो हुने तथा उपभोक्ता ठगिएको भन्ने गुनासो व्यापक छ । विशेषगरी ७.१ केजी रिफिल वितरणका क्रममा यस्ता गुनासा अझ बढेका छन्,’ पाठकले भने ।

साथै, पाठकले सिलिण्डरभित्र हुने लेदोका कारण उपभोक्ताहरू ठगिएको र हालै कार्यान्वयनमा आएको आधा सिलिन्डरको व्यवस्थाले थप अन्योल सिर्जना गरेको उल्लेख गरे ।

‘यस विषयमा मन्त्रालय र सम्बन्धित निकायले के पहल गरिरहेका छन् ? एलपी ग्यासमा बढ्दो परनिर्भरता र राज्यले व्यहोर्नुपरेको अनुदानको भारलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका रूपमा विद्युत ऊर्जाको प्रयोग विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा एलपी ग्यासको विकल्प विकास गर्ने सरकारको योजना के छ ? यसबारे स्पष्ट जानकारी गराइदिनुहुन अनुरोध गर्दछु,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस