भोटेकोशी रिसोर्टमा फर्जी सञ्चालक समिति बनाएको आरोप, कम्पनी रजिस्ट्रारमा उजुरी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ६, बुधबार (११ घण्टा अघि)
  • ४२ पटक पढिएको
भोटेकोशी रिसोर्टमा फर्जी सञ्चालक समिति बनाएको आरोप, कम्पनी रजिस्ट्रारमा उजुरी

काठमाडौँ , ०६ साउन। सेयर कारोबारी दीपेन्द्र अग्रवालले भोटेकोशी हेली रिसोर्ट लिमिटेडमा फर्जी सञ्चालक समिति बनाएका छन् ।

अग्रवालले बनाएको फर्जी सञ्चालक समितिलाई कम्पनी रजिस्ट्रारले पनि मान्यता दिइसकेको छ ।

रिसोर्ट नेपाल बैंकमा धितो राखिएको छ । पुराना लगानीकर्ताबाट सम्पत्ति दायित्वको जिम्मा लिएका अग्रवालले बैंकको कर्जा तिरेका छैनन् । बैंकको कर्जाका कारण आफू कालोसूचीमा पर्न सक्ने भए पनि अग्रवालले फर्जी सञ्चालक समिति गठन गरेर कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेका हुन् ।

अग्रवालले पेस गरेको कागजातका आधारमा कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृत गरेको छ । तर, अग्रवालले सञ्चालक बनाएका व्यक्तिले नै विना कुनै जानकारी सञ्चालक बनाइएको भन्दै उजुरी गरेको अवस्था छ ।

कोभिड तथा सिन्धुपाल्चोकको पहिरो लगायत कारण रिसोर्ट सञ्चालनमा समस्या आएपछि पुराना लगानीकर्ता सेयर बिक्री गरेर भए पनि बैंक कर्जा तिर्ने प्रक्रियामा गए । होटलका एक सञ्चालक

सुवास प्रधानले सेयर बिक्री गरी नयाँ लगानीकर्ता भित्र्याउने जिम्मा लिए ।

सोही अनुसार रिसोर्टका लगानीकर्ताहरू सुवास प्रधान, समिरकुमार नेपाल, चिनबहादुर रानाभाट, छिरिङ शेर्पाबीच प्रधानले भित्र्याएका लगानीकर्तालाई बहुमत सेयर दिने तथा सम्पत्ति–दायित्व पनि उसैले सकार्ने सहमति भएको थियो । सोही अनुसार दीपेन्द्र अग्रवाल प्रवेश गरेका थिए । हाल अग्रवाल र उनको परिवारको स्वामित्वमा कुल १७ लाख कित्ता सेयर छ ।

सोही अनुसार अग्रवालले आफ्नो अध्यक्षतामा सञ्चालक समिति गठन गरे । अग्रवालले होटलको जिम्मा लिई सञ्चालन पनि गरे । बैंकको कर्जा भुक्तानी गर्ने सन्दर्भमा अग्रवालले पुराना सेयरधनीलाई नै अप्ठ्यारोमा पार्न थालेपछि समस्या जटिल बनेको एक सेयरधनीले बताए ।

‘कर्जा तिर्छु भनेपछि व्यक्तिगत जमानी फिर्ता गर्ने सहमति अनुसार अग्रवाललाई सेयर दिइएको हो,’ उनले भने, ‘अग्रवालले रिसोर्ट सञ्चालन गरेर बैंकको ६ करोड ९० लाख जति बक्यौता भुक्तानी गरे, व्यक्तिगत जमानी फिर्ता गर्ने सन्दर्भमा अग्रवालले गरेनन्, आफूले १८ करोड लगानी गरेको उक्त रकम फिर्ता गरे छाड्ने धम्की दिन थाले पछि अग्रवाल र अन्य सेयरधनीबीच विवाद झनै बढ्दै गयो, बैंकको कारोबार नमिलाएपछि आफू पनि कालोसूचीमा पर्ने भएपछि फर्जी सञ्चालक समिति बनाइ कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृत गराएको अवस्था छ ।’

रिसोर्टका नाममा नेपाल बैंकमा ३२ करोड रुपैयाँ बराबर कर्जा छ । कर्जाका कारण बैंकले तीन पटकसम्म लिलामी सूचना प्रकाशित गरेपछि बिक्री हुन सकेको छैन । बैंकल पुन चौथो पटक ७ दिन अवधि राखी तेस्रो पटक लिलाम प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

अग्रवालले बैंक कर्जामा आफू र आफ्नो परिवार संलग्न नभएको हुनाले पुराना सेयरधनीलाई दु:ख दिने नियतले काम गर्न थालेपछि विवाद बढेको ती सेयरधनीले बताए ।

‘सम्झौता अनुसार अग्रवालले पाउनुपर्ने ७ लाख ३७ हजार कित्ता सेयर बाँकी छ, त्यो सेयर दिने व्यक्ति पनि जेलमा भएकाले रोकिएको हो, त्यही बहानामा सबैलाई दु:ख दिने अनेक फर्जी काम गर्दै हिँडेको देखिन्छ,’ ती सेयरधनीले भने, ‘अग्रवाल जोडिएको कुनै पनि संस्थामा विवाद नभएको संस्था नै नभएको पाइयो, धेरै खराब मान्छेसँग कारोबार गरिएछ भन्ने पछुतोमात्र लाग्छ ।’

सोही निर्णयपछि २०८२ भदौ २८ मा रिसोर्टको नयाँ सञ्चालक समिति गठन भएको थियो, जसबाट अध्यक्षका रूपमा दीपेन्द्र अग्रवालले जिम्मा लिएका थिए ।

त्यसैगरी सदस्यमा सुवास प्रधान, मिता मुरारका अग्रवाल, उमेश गुप्ता, जयप्रकाश गुप्ता र रविन्द्र प्रसाद थिए । अग्रवालले यी सबै सञ्चालकले २०८२ माघ ८ मा राजीनामा दिएको र स्वीकृत भएको कागजात बनाइ नयाँ सञ्चालक समिति गठन गरेका छन् ।

कम्पनी ऐन अनुसार पब्लिक कम्पनीको पहिलो सञ्चालक समिति सञ्चालक मार्फत गठन हुन्छ । त्यसपछि साधारणसभा वा विशेष साधारणसभा मार्फत गर्ने व्यवस्था छ । त्योभन्दा फरक अवस्थामा कम्पनीको विनियमावली अनुसार निर्णय गर्न सकिने व्यवस्था रहेको बताउँदै ती सेयरधनीले भने, ‘रिसोर्टको विनियमावली अनुसार सम्पूर्ण सेयरधनीलाई जानकारी गराएर मात्रै नयाँ सञ्चालक समिति गठन गर्न सकिने व्यवस्था छ, अग्रवालले बनाएको सञ्चालक समितिका सन्दर्भमा सेयरधनीलाई मात्र होइन सञ्चालक नै भएको व्यक्तिलाई पनि जानकारी छैन ।’

२०८३ सालको साधारणसभा नहुँदासम्मका लागि अग्रवालले आफ्नो अध्यक्षतामा भएको समितिलाई भंग गरी हरिप्रसाद चापगाईको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार रिसोर्टका अन्य सञ्चालकमा रगु खत्री, प्रेमलाल लामिछाने, भीमकुमार प्रधान, रामायण गुप्ता र विश्वानाथ छन् ।

यो सञ्चालक समिति कानुनसम्मत नभएको भन्दै कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको छ । उक्त उजुरीमाथि रजिस्ट्रारको कार्यालयले अग्रवालको अध्यक्षताको समिति ब्युँताउने गरी काम अघि बढाएको समेत अर्का सेयरधनीले बताए । हाल रिसोर्ट भने सञ्चालनमा छ ।

सञ्चालक भएको सञ्चालकलाई नै थाहा छैन

अग्रवालले २०८२ माघ ८ मा सञ्चालक नियुक्त गरेका उमेश गुप्तालाई त्यससम्बन्धी जानकारी नै छैन । गुप्ताको हस्ताक्षर नभएको विवरण समेत कम्पनी रजिस्ट्रारले मान्यता दिएपछि उनले उजुरी गरेका छन् ।

आफूलाइ जानकारी नदिई फर्जी तरिकाबाट सञ्चालक नियुक्त गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा विवरण पठाइएकोमा आपत्ति जनाउँदै त्यसलाई सच्चाउनुपर्ने मागसहित गुप्ताले उजुरी दिएका हुन् ।

‘मैले भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडमा १५ हजार कित्ता सेयर खरिद गरी १५ लाख रुपैयाँको सेयर खरिद गरेको थिएँ तर मेरो जानकारी र सहमतिविना मेरो नाम सञ्चालक समितिमा राखेको देख्दा आश्चर्य लागेको छ, मैले आजको मितिसम्म कुनै पनि संचालक समितिको बैठकमा सहभागी हुने र हस्ताक्षर गर्ने कार्य पनि गरेको छैन,’ गुप्ताको उजुरीमा छ, ‘यसर्थ, सञ्चालक समितिले गरेका कुनै पनि निर्णयमा मेरो सहभागिता र भूमिका छैन, मैले मेरो जिकिरलाई सहयोग पुर्‍याउने कागजात यस निवेदनका साथ पेस गरेको छु, तसर्थ यस बिषयमा सहजीकरण र सञ्चालक दायित्वबाट उन्मुक्तिको लागि हजुर समक्ष यो उजुरी पेस गरेको छु ।’

गुप्ताले असार २३ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस