
विराटनगर, ११ साउन। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ ।
कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो ।
हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताए ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
