भैरहवाबाट दिल्ली पुग्न अब कम समय, सुनौली–गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (१ घण्टा अघि)
  • ४२ पटक पढिएको
भैरहवाबाट दिल्ली पुग्न अब कम समय, सुनौली–गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा

काठमाडौँ, १२ साउन। भारतमा इन्डो-नेपाल कनेक्टिभिटीतर्फ थप एक महत्त्वाकांक्षी परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सुनौली-गोरखपुर सडकखण्ड अहिले चार लेनको द्रुतमार्गमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरूले यस आयोजनाबाट नेपाल र भारतबीचको यात्रा सहज, सुरक्षित र तीव्र हुने बताएका छन् ।

प्राधिकरणका अनुसार सुनौली-गोरखपुर एक्स्प्रेस वेको भौतिक प्रगति ७९.५४ किलोमिटर लामो छ । अहिले दुई लेनमा रहेको सडकलाई भारत सरकारले एक्स्प्रेस वेका रूपमा स्तरोन्नति गरिरहेको छ ।

सोही क्रममा रेल ओभरब्रिज, फ्लाइओभर र अन्डरपास समेत निर्माण गरी सुनौली-गोरखपुरलाई अब सिधा सडक सुविधा मार्फत जोड्न लागिएको छ ।

यस द्रुतमार्गले भारतीय राजधानी नयाँदिल्ली, उत्तर प्रदेश र बिहारबाट नेपालतर्फको पट्यारलाग्दो लामो यात्रा छोट्याउने छ ।

सुनौली नाका नेपाल-भारत व्यस्त क्रस बोर्डर ट्रान्जिट बिन्दुमध्ये एक हो । यस नाका हुँदै दैनिक हजारौं पर्यटक, तीर्थयात्री, व्यापारी र मालवाहक सवारीसाधन आवतजावत गर्छन् ।

प्राधिकरणका अनुसार यो परियोजना १४ अर्ब ५८ करोड भारु (२३ अर्ब ३२ करोड ८० लाख नेपाली रुपैयाँ) मा बन्दैछ । यस अन्तर्राष्ट्रिय करिडोरले यात्रामा नयाँ गति र क्षमता प्रदान गर्ने छ ।

आयोजनाले यात्रु र मालवाहक सवारीलाई सुगम र सुरक्षित यात्रा अनुभूति प्रदान गर्ने छ । साथै, धार्मिक यात्रुलाई कुशिनगर, बनारस र लुम्बिनीसँग सहज जोड्न सहयोग गर्ने छ ।

प्राधिकरणका अनुसार अहिले चार लेनलाई एक्स्प्रेस वे बनाएर बाँकी दुई लेन सर्भिस लेनका रूपमा विकास गरिँदै छ । ट्राफिक चाप बढ्दा यस द्रुतमार्गलाई ६ लेनमा विस्तार गर्न सकिने गरी डिजाइन गरिएको छ । द्रुतमार्गमा एडभान्स ट्राफिक म्यानेजमेन्ट सिस्टम जडान गरिने छ । सीसीटीभी, इमर्जेन्सी कल बक्स, रियल टाइम ट्राफिक मनिटरिङ व्यवस्था हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो द्रुतमार्ग निर्माण भइसकेपछि नयाँदिल्ली-सुनौली सडक यात्राको समय ८ घण्टामा झर्ने छ । अहिले यो समय १२-१४ घण्टासम्म लाग्ने गरेको छ ।

काठमाडौं-भैरहवा रुटमा निर्माणाधीन सडक संरचना निर्माण सम्पन्न हुने हो भने निकट भविष्यमै काठमाडौंं-दिल्ली सडक यात्रा दुरी १६ घण्टा हाराहारीमा झर्ने छ । अहिले यो रुटको यात्रा समय २४-३० घण्टासम्म लाग्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस