साउने झरीमा लघुवित्त पीडितको पीडा : सडकमै गास, सडकमै बास

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ महिना अघि)
  • ७५ पटक पढिएको
साउने झरीमा लघुवित्त पीडितको पीडा : सडकमै गास, सडकमै बास

काठमाडौँ, १४ साउन। लघुवित्त पीडितहरुले साउने झरीको रात माइतीघरको सडक किनारमै काटेका छन् । उनीहरुमध्ये ४२ जना सामूहिक आमरण अनसनमा छन् ।

सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गर्दै लघुवित्त पीडितहरुले मंगलबारदेखि सामूहिक आमरण अनशन सुरु गरेका थिए । करिब डेढ सयको संख्यामा रहेकामध्ये हाल ४२ जना सामूहिक आमरण अनसनमा छन् । अन्यले भने सडकमै खाना खाएका थिए ।

त्रिपाल र प्लास्टिकमा ओत लाग्ने प्रयास गर्दै उनीहरुले रात काटेका थिए । केहीले भने ओत समेत पाएनन् । उनीहरु पसलका सटर अगाडि पेटीमा कुक्रुक्क परेर रुझ्दै बसेको देखिन्थ्यो ।

सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमतिलाई कार्यान्वयन गर्न परमादेश दिइसकेको अवस्था हुँदा पनि सरकारले चासो नदेखाएपछि झरीको प्रवाह नगरी पीडित आन्दोलनमा उत्रेका हुन् ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवाली सहित विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै पीडितहरु सामूहिक आमरण अनसनमा छन् ।

देशभरिबाट काठमाडौंको माइतीघरमा जम्मा भएका लघुवित्त पीडित चामल, ग्याँस सिलिन्डरदेखि सिरक डस्ना समेत बोकेर ल्याएका छन् । आन्दोलन गरेको धेरै समय भएकाले सरकारले पीडितका समस्या समाधान नगर्दासम्म निरन्तर आन्दोलन गर्ने समितिका उपाध्यक्ष मिनप्रसाद चौलागाईंले बताए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस