लाइसेन्स छपाइ सकियो, सेवाग्राहीले अब छिट्टै अनुमति पत्र पाउने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ दिन अघि)
  • ३९ पटक पढिएको
लाइसेन्स छपाइ सकियो, सेवाग्राहीले अब छिट्टै अनुमति पत्र पाउने

काठमाडौँ, १४ साउन। यातायात व्यवस्था विभागले साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न भएको जानकारी गराएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिएको जानकारी दिएको छ ।

२७ लाख ४७ हजार २५३ थान कार्ड हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको विभागले जनाएको छ । विभागका अनुसार १२ कात्तिक २०८२ मा विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको सम्झौता अनुसार लाइसेन्स छाप्ने कामले तीव्रता पाएको हो ।

अहिले म्याद सकिन एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स भने छापिएको छैन । यस्ता लाइसेन्सको नवीकरणपछि १० वर्ष अवधिको लाइसेन्स प्राप्त हुने भन्दै विभागले एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स बाहकलाई पायक पर्ने यातायात कार्यालयमा नवीकरण गर्न समेत अनुरोध गरेको छ ।

विभागले नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण प्राप्त गर्न, राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको समेत जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस