चालु आर्थिक वर्षमै व्यावसायिक फाइभजी सेवा सुरु हुने : सञ्चारमन्त्री

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १७, आईतबार (१३ घण्टा अघि)
  • ४१ पटक पढिएको
चालु आर्थिक वर्षमै व्यावसायिक फाइभजी सेवा सुरु हुने : सञ्चारमन्त्री

काठमाडौं, १७ साउन। सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेका छन्।

आइतबार बिहान फेसबुकमार्फत् आफ्नो योजना सार्वजनिक गर्दै मन्त्री तिमल्सिनाले यसै वर्षभित्र नेपालमा व्यावसायिक फाईभजी सेवाको सुरुआत गरिने जानकारी दिएका हुन्।

तिमल्सिनाले यस वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दूरसञ्चार क्षेत्रमा सुधार, गुणस्तरीय र भरपर्दो सेवा, आधुनिक दूरसञ्चार पूर्वाधार निर्माण तथा सुदृढ सार्वजनिक सञ्चार प्रणालीको विकास गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्।

परिणाममुखी कार्यसम्पादनमार्फत समग्र सञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उनको उद्घोष छ।

मन्त्री तिमल्सिनाले आर्थिक वर्ष २०८३/८४ का लागि दूरसञ्चार क्षेत्रका सातवटा प्रमुख प्राथमिकताहरू सार्वजनिक गरेका छन् । उनका अनुसार, यो आर्थिक वर्षमा सरकारले नेपालमा पहिलो पटक व्यावसायिक फाईभजी सेवाको सुरुआत गर्नेछ ।

त्यस्तै, सरकारले देशव्यापी रूपमा उच्च गुणस्तरको फोरजी सेवाको पहुँच सुनिश्चित गर्नेछ ।

मन्त्री तिमल्सिनाका अनुसार, सरकारले यही आर्थिक वर्षभित्र प्रत्येक नागरिकलाई भरपर्दो दूरसञ्चार र इन्टरनेटको पहुँच उपलब्ध गराउनेछ । ग्राहकको अनुभव र टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तरमा मापनयोग्य सुधार ल्याउने पनि उनले घोषणा गरेका छन् ।

उनले सरकारी स्वामित्वको नेपाल टेलिकमको रूपान्तरण गर्दै यसको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने बताएका छन् । साथै, दूरसञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै गुणस्तर अनुगमन प्रणाली सुदृढ गर्ने कामलाई पनि सरकारले प्राथमिकतामा राखेको मन्त्री तिम्लसिनाले उल्लेख गरेका छन् ।

उनले परिणाममुखी, उत्तरदायी र सुशासित दूरसञ्चार क्षेत्र निर्माण गरेर सुशासन र उत्तरदायित्वसहित काम गर्ने बताएका छन् ।

मन्त्री तिम्लसिनाले सार्वजनिक गरेको तस्बिरमा पनि आर्थिक वर्ष २०८३/८४ लाई ‘नेपालको दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधारको वर्ष’ बनाउने उल्लेख छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस