हिक्मतसँग सहमति नजुटेपछि ओलीले गुण्डुमा तीन नेतालाई बोलाए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (१ महिना अघि)
  • ७२ पटक पढिएको
हिक्मतसँग सहमति नजुटेपछि ओलीले गुण्डुमा तीन नेतालाई बोलाए

काठमाडौं, १९ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित तीन नेतालाई काठमाडौँ बोलाएका छन् । प्रदेश इन्चार्ज समेत रहेका सचिव शेरधनमार्फत कार्कीलाई राजीनामा दिन लगाएर नयाँ मुख्यमन्त्री बनाउन गरेको प्रयास सफल हुने नदेखेपछि ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौँ बोलाएका हुन् ।

अध्यक्ष ओलीले सचिव राईलाई विराटनगर पठाएर कार्कीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री नियुक्तिको वातावरण बनाउन निर्देशन दिएका थिए । सोही अनुसार राईले सोमबार दिउँसो विराटनगरमा बैठक बोलाएर नयाँ मुख्यमन्त्री चयनबारे छलफल गरेका थिए । तर, उक्त छलफलमा मुख्यमन्त्री कार्कीले कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि ओलीले कार्कीसहितका ३ जना नेतालाई काठमाडौँ बोलाएका हुन् ।

‘अध्यक्षले मुख्यमन्त्री कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश इन्चार्ज शेरधन राईलाई काठमाडौँ बोलाउनुभएको छ’, अध्यक्ष ओली निकट एक नेताले भने, ‘उहाँहरू मंगलबार काठमाडौँ आएर अध्यक्षसँग छलफल गर्दै हुनुहुन्छ ।’

ति नेताका अनुसार मंगलबार दिउँसो तीनै जना नेताले अध्यक्ष ओली निवास गुण्डुमा छलफल गर्नेछन् । उक्त छलफल अनुसार कोशीमा को मुख्यमन्त्री बन्ने भन्ने टुङ्गो लाग्ने छ ।

अध्यक्ष ओली कार्कीलाई हटाएर ताप्लेजुङका प्रदेश सांसद  तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन चाहन्छन् । सोही अनुसार ओलीले राईमार्फत कार्कीलाई राजीनामा गराउन लगाएर मार्गप्रशस्त गराउन लागि परेका थिए ।

तर, कार्कीले राईको उक्त आग्रह अस्वीकार गरेपछि विवाद बढेको हो । गत साता अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलका बीचमा कोशीमा कार्कीलाई निरन्तरता दिने सहमति भएको थियो । तर, उक्त सहमतिविपरीत ओलीले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन खोजेपछि एमालेभित्र पुन विवाद उत्पन्न भएको छ ।

कार्कीले आफूले मुख्यमन्त्री छाड्नुपर्ने भए पार्टी सचिवालयमार्फत लिखित रुपमा निर्णय गर्नुपर्ने शर्त अघि सारेका छन् ।  तर, ओलीले भने संस्थागत लिखित निर्णय नगराई मौखिक निर्देशनमात्र दिइरहेको भन्दै कार्की कुनैपनि हालतमा मौखिक निर्देशनका आधारमा राजीनामा नदिने पक्षमा छन् । कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस