भूमिहीन सुकुमवासीका लागि तत्काल गर्नुपर्ने सात काम, विपक्षीको सुझाव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (१४ घण्टा अघि)
  • ५९ पटक पढिएको
भूमिहीन सुकुमवासीका लागि तत्काल गर्नुपर्ने सात काम, विपक्षीको सुझाव

काठमाडौं, १९ साउन। प्रतिनिधिसभामा आज नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदैछ । सांसद आङ्देम्बेले ३१ असार २०८३ मा यो प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेका थिए ।

वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने गरी लगिएको प्रस्तावको समर्थकमा नेकपा एमाले प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहेका छन् ।

भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिई उचित क्षतिपूर्ति दिनुपर्ने माग प्रस्तावमा छ ।

साथै, स्थायी पुनर्स्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीलाई यथाशीघ्र लालपुर्जा वितरण गराउन आवश्यक भएको औंल्याइएको छ ।

यस्तो सार्वजनिक महत्वको प्रस्तावमार्फत विपक्षी दलहरूले भूमिहीन, सुकुमवासीबारे सरकारले तत्काल गर्नुपर्ने ७ काम औंल्याएका छन् ।

१. एकीकृत तथ्यांक र गुनासो सुनुवाइ : विस्थापित, होल्डिङ सेन्टरमा रहेका, राहत पाएका वा नपाएका तथा सम्पर्कविहीन परिवारको प्रमाणित तथ्यांक सात दिनभित्र सार्वजनिक गरी प्रत्येक केन्द्रमा अधिकारसम्पन्न हेल्प डेस्क स्थापना गरियोस् ।

२. सुरक्षित आवास र आधारभूत सेवा : स्थायी पुनर्स्थापना नभएसम्म विपद् जोखिमरहित स्थानमा पर्याप्त कोठा, स्वच्छ पानी, विद्युत्, शौचालय, सरसफाइ, गोपनीयता र सुरक्षासहितको मानवीय आवास उपलब्ध गराइयोस् ।

३. खाद्य, स्वास्थ्य र विशेष संरक्षण : खाना बन्द गर्ने कार्य रोक्दै गर्भवती, सुत्केरी, शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी र दीर्घरोगीलाई पौष्टिक खाना, नि:शुल्क औषधि, मातृशिशु सेवा, एम्बुलेन्स र मनोसामाजिक परामर्श उपलब्ध गराइयोस् ।

४. शिक्षा र जीविकोपार्जनको निरन्तरता : प्रभावित बालबालिकालाई पुरानै विद्यालयमा पढ्न नि:शुल्क यातायात, नष्ट भएका शैक्षिक सामग्रीको प्रतिस्थापन र परीक्षा तथा उपस्थितिमा सहुलियत दिइयोस् । साथै प्रभावित परिवारको रोजगारी र जीविकोपार्जन पुनर्स्थापनाको व्यवस्था गरियोस् ।

५. क्षतिपूर्ति र स्थायी पुनर्स्थापना : डोजर, स्थानान्तरण वा बाढीबाट भएको सम्पूर्ण क्षतिको स्वतन्त्र मूल्यांकन गरी वास्तविक क्षतिपूर्ति दिइयोस् र प्रभावित समुदायको सहभागितामा तीन महिनाभित्र जग्गा, सामाजिक आवास, भाडा सहायता वा सुरक्षित पुनर्वाससहितको स्थायी योजना ल्याइयोस् ।

६. जबर्जस्ती निष्काशन रोक र संवैधानिक अधिकार कार्यान्वयन : वैकल्पिक आवास, शिक्षा, स्वास्थ्य, क्षतिपूर्ति र जीविकोपार्जनको सुनिश्चितताबिना थप बस्ती नभत्काइयोस् । सर्वोच्च अदालतको आदेश तथा संविधानको धारा ४०(५) र (६) अनुसार भूमिहीन दलितलाई जमिन र आवास उपलब्ध गराइयोस् ।

७. छिटो लालपुर्जा वितरण : सरकारले गरेको प्रतिबद्धता तथा प्रचलित कानुनबमोजिम वास्तविक भूमिहीन, भूमिहीन दलित र योग्य सुकुमवासीको पहिचान तथा प्रमाणीकरण शीघ्र सम्पन्न गरी निश्चित समयसीमाभित्र जग्गाधनी लालपुर्जा वितरण गरियोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस