सांसदलाई चेतावनी– बैठक चल्दा कालो चस्मा र सेयर कारोबार दुवै बन्द गर्नू

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २१, बिहिबार (१० घण्टा अघि)
  • ५४ पटक पढिएको
सांसदलाई चेतावनी– बैठक चल्दा कालो चस्मा र सेयर कारोबार दुवै बन्द गर्नू

काठमाडौं, २१ साउन। प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनार लगायतको ब्रान्ड नै बनेको छ- कालो चस्मा । उनीहरू संसद्‍मा आउँदा पनि कालो चस्मा छोड्दैनन् ।

रास्वपाबाट निर्वाचित भएका उनीहरूका पोसाक र चस्माले संसद्‍मा समेत बहसको विषय बनेको छ । यो संसदीय मर्यादा अनुकूल नभएको भन्दै प्रश्न उठ्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा नलगाई तोकिएको ड्रेसकोडमा उपस्थित हुन निर्देशन दिएका छन् ।

संसद्को गरिमा र मर्यादा कायम राख्न भन्दै उनले सो निर्देशन दिएका हुन् । तोकिएको पोशाक र सांसदको लोगो लगाउन तर कालो चस्मा नलगाउन उनले निर्देशन दिएको सभामुख अर्यालका स्वकीय सचिव नवराज पाण्डेले जानकारी दिए ।

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा र गरिमाका साथै सांसदहरुका अनुशासन लगायतका विषयमा छलफल भएको थियो । सो छलफलको क्रममा सभामुख अर्यालले ड्रेसकोड पालना गर्न/गराउन र अनुशासनमा राख्न सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका थिए ।

लगत्तै कांग्रेसकी सांसद वासना थापाले प्रधानमन्त्री र मन्त्रीहरूले कालो चस्मा लगाएर संसद् बैठकमा सहभागी हुने गरेको विषय उठाएकी थिइन् । त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई पनि सम्बन्धित दलले आवश्यकता अनुसार निर्देशन दिनसक्ने बताएका थिए ।

सभामुखको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव पाण्डेले अनलाइनखबरसँग भने, ‘त्यस विषयमा सभामुखले प्रधानमन्त्री पनि त कुनै दलको हुनुहुन्छ । उहाँलाई प्रमुख सचेतक, सचेतकले भन्नुपर्‍यो भन्नुभयो । सभामुखको भनाइ कालो चस्मा लगाई संसद् बैठकमा आउनु हुँदैन भन्ने हो ।’

कांग्रेसकी प्रमुख सचेतक वासना थापाका अनुसार कालो चस्मा लगाएर संसद् बैठकमा आउनेहरूलाई त्यसो नगर्न सम्बन्धित दलबाटै भन्नुपर्ने सभामुखले बताएका थिए ।

‘सभामुखज्यूले मर्यादित पोशाकको कुरा गरेपछि मैले प्रधानमन्त्रीले नै कालो चस्मा लगाएर आउनुहुन्छ भनेँ,’ थापाले अनलाइनखबरसँग भनिन्, ‘ड्रेसको कुरामा हामी रुल एन्ड रेगुलेसनमा छौं । मर्यादित पोशाकसँगै विधेयकमा पनि ध्यान दिऔं भनेँ ।’

उनले थपिन्, ‘क्रान्तिशिखा धिताल (रास्वपा सचेतक) ले पनि यो विषयमा कुरा राख्नुभयो । कोट र लोगो अनिवार्य गरौं भन्नुभयो । राष्ट्रपति आउने दिन ड्रेस कोडको कुरा छ, विशेष समारोहमा ड्रेस कोडको कुरा पहिला पनि छ भन्नुभयो । अनि घुमाउरो शैलीमा प्रधानमन्त्रीलाई सत्तापक्षले भन्नुपर्‍यो भनेर सभामुखले भन्नुभयो ।’

संसदमा प्रधानमन्त्री, मन्त्री र सांसदसम्मले कालो चस्मा लगाएर बैठकमा सहभागी हुने दृश्य सामान्यजस्तै बन्न थालेको थियो । कतिपय मन्त्री र सांसदहरू तोकिएको पोशाक र आधिकारिक लोगोसमेत नलगाई बैठकमा सहभागी हुने गरेको गुनासो पनि उठ्दै आएको थियो ।

खासगरी प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनार लगायतले कालो चस्मा लगाएर संसद् बैठकमा सहभागी हुने गरेका छन् । उनीहरू सबै रास्वपाबाट निर्वाचित भएका हुन् ।

संसद् बैठकभित्रैबाट सेयर कारोबार

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार सबै राजनीतिक दललाई आ–आफ्ना सांसदलाई संसद्‍मा पालना गर्नुपर्ने मर्यादा र पोसाकसम्बन्धी मापदण्डबारे जानकारी गराउन सभामुख अर्यालले निर्देशन दिएका थिए ।

साथै संसद् बैठकमा सहभागी भइरहेको बेला कतिपय सांसदहरूले ल्यापटपमा सेयर कारोबार गरेको सूचना आएको र लबीमा भिडभाड गरेको भन्दै सभामुखले त्यस्ता गतिविधि नगर्न पनि सचेत गराएको परियारले जानकारी दिए ।

‘संसद्‍मा कालो चस्मा लगाउने धेरै भए भन्ने कुरा उठेको थियो । ड्रेस कोड आदिको कुरा भएको हो,’ सचेतक परियारले भने, ‘संसद्को मूल्य मान्यता र गरिमालाई कायम राख्न पोशाक र आचरणको कुरा पनि महत्वपूर्ण हुन्छ भन्ने विषय सभामुखज्यूले गम्भीरतापूर्वक राख्नु भएको हो ।’

परियारका अनुसार सभामुखको निर्देशन केवल कालो चस्मासम्म सीमित भने थिएन । संसद्‍मा नियमित उपस्थिति, मर्यादित पोसाक, आधिकारिक लोगोको प्रयोग र अनुशासित व्यवहारलाई पनि उनले जोड दिएका थिए ।

‘सांसदहरू कि बैठक कक्षमा हुनुपर्‍यो, कि खाजा खाइरहेको हुनुपर्‍यो, कि संसद् भवन परिसर भन्दा बाहिरै हुनुपर्‍यो तर लबीमा भिड गर्नुभएन भन्ने थियो,’ परियारले भने, ‘ड्रेसकोड र लोगो बेगर सांसदहरू बैठकमा आएमा मर्यादापालकलाई भनेर छेकिदिन्छौं भनेर पनि सभामुखज्यूले भन्नुभयो ।’

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार त सभामुखले कालो चस्मा, पोशाक र लोगो नलगाए ‘अब एक्सक्युज हुँदैन’ भन्ने शब्द प्रयोग गर्दै नियम सबैका लागि समान हुने बताएका थिए ।

त्यसक्रममा सहभागीहरूले प्रधानमन्त्री नै कालो चस्मा लगाएर बैठकमा आउने गरेको भन्दै उनको हकमा के हुने भन्ने जिज्ञासा राखेका थिए । त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्री र मन्त्रीहरूलाई नियमअनुसार उपस्थित गराउने जिम्मेवारी सत्तारूढ दलकै भएको बताएका थिए ।

संसद्को प्रभावकारिताभन्दा सांसदहरूको व्यवहार र पहिरन बढी चर्चाको विषय बन्न थालेका बेला सभामुखको यो निर्देशनलाई संसद्को संस्थागत अनुशासन बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पनि सांसदहरूको मर्यादित पोशाकको विषय कार्यव्यवस्था परामर्श समितिको बैठकमा उठेको स्वीकारे । उनले अनलाइनखबरसँग भने, ‘कालो चस्माको कुरा, पोशाकको कुरा आएको हो । कालो चस्मा मर्यादित हो वा होइन भनेर छलफल भएको थियो ।’

नियमावलीमै छ सांसदको पोशाक र लोगोको विषय

प्रतिनिधिसभा नियमावलीको नियम २४२ मा पोशाक र प्रतीक चिह्न (लोगो) सम्बन्धी व्यवस्था छ ।

उपनियम १ मा भनिएको छ, ‘सदस्यको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुनेछ ।’

उपनियम (१) बमोजिम पोशाक तोक्दा औपचारिक, मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाकसमेतमा ध्यान दिनुपर्ने व्यवस्था उपनियम २ मा छ ।

यस्तो नियमको उल्लंघन गर्नेहरूका सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको बैठकमै विषय उठेको हो । योसँगै संसद्‍मा कालो चस्मा लगाएर संसद् जाने सांसदहरू निगरानीमा पर्ने भएका छन् ।

सभामुखले नै सम्बन्धित दलका मुख्य सचेक, प्रमुख सचेतक र सचेतकहरूलाई आफ्ना पार्टीका सांसदहरूले मर्यादित पोशाक लगाए÷नलगाएको विषयमा ख्याल गर्न भनेका छन् ।

संसद्‍मा पनि उठ्ने गरेको छ कालो चस्माको विषय

कालो चस्मा र कालो कोटको विषय संसद्‍मै पनि बेला–बेला उठ्छ । विपक्षी दलहरू सरकार र सत्तापक्षलाई प्रश्न गर्दा कालो कोट र कालो चस्माको प्रसंग निकाल्छन् ।

२२ असारमा प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हजारौँ सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गरिएको भन्दै सरकारको शैलीमाथि प्रश्न उठाए ।

‘के यो देश ठूलाबडाको मात्रै हो ?’ प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै आङदेम्बेले थपे, ‘के यो देश कालो चस्मा लगाउने, कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुँइकिनेहरूको मात्र हो ?, सुकुमवासी, अव्यवस्थित बसोबासी, गरिब किसान मजदुरहरूको चाहिँ यो देश होइन ?’

होइन भने भन्नुपर्ने अन्यथा सुकुमवासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी हुनुपर्ने बताए ।

यसको जवाफ प्रधानमन्त्री शाहले दिएका छैनन् ।

बरु २५ असारमा प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद खगेन्द्र सुनारले कालो चस्मा, कालो कोट र कालो पाइन्ट लगाए पनि आफूहरूको नियत सफा रहेको जवाफ फर्काए ।

सांसद सुनारले भनेका छन्, ‘हो हाम्रो कोट कालो छ, चस्मा पनि कालो छ । तर हाम्रो धन कालो छैन । मन कालो छैन ।’

एकातिर प्रमुख विपक्षी दलकै नेताले ब्याङ्यात्मक रूपमा भए पनि सांसदहरूको पोशाकलाई लिएर संसद्मै प्रश्न उठाए । अर्कोतिर पोशाकलाई लिएर भएको ब्यङ्ग्यप्रति संसद्‍मै सवालजवाफ भए ।

यस विषयलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा आफैँले प्रवेश गराएर सभामुख अर्यालले सांसदहरूलाई मर्यादित पोशाकमा उपस्थित हुनुपर्ने नैतिक बन्धन र कानुनी व्यवस्था देखाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस