इरानको धम्कीपछि ट्रम्पलाई ट्रकभित्र लुकाएर विमान परिवर्तन गरिएको अमेरिकी मिडियाको दाबी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
इरानको धम्कीपछि ट्रम्पलाई ट्रकभित्र लुकाएर विमान परिवर्तन गरिएको अमेरिकी मिडियाको दाबी

काठमाडौं, २६ साउन। गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी धम्कीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य रूपमा विमान परिवर्तन गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

टेलिभिजनका क्यामेराहरूले देख्ने गरी ट्रम्प एयर फोर्स वनमा चढेका थिए। तर त्यसपछि उनलाई गोप्य रूपमा विमानको उचाइसम्म उठाइएको विमानस्थलको क्याटरिङ सेवा दिने ट्रकमा लगेर अर्को सैन्य विमानमा सारिएको बताइएको छ । वासिङ्टन पोस्टका अनुसार विमानमा रहेका पत्रकारहरू र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत राष्ट्रपतिले विमान परिवर्तन गरेको जानकारी थिएन।

सीबीएस न्युजलाई अमेरिकी अधिकारीहरूले इरानबाट उक्त विमानमाथि क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय खतरा पत्ता लागेको बताएका छन् । ह्वाइट हाउसले भने गोप्य विमान परिवर्तन भएको पुष्टि गरेको छैन।

यसअघि अंकारामा भएको सम्मेलनका क्रममा ट्रम्पले आफू इरानले एक नम्बर टारगेट गरेको बताएका थिए।वासिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण सुरु गरेको एक दिनपछि यो गोप्य विमान परिवर्तन गरिएको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस