अध्यक्ष पदबाट हटाउन ओलीको चुनौती : ‘मलाई हटाएर देखाऊ’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ३१, आईतबार (२ घण्टा अघि)
  • ३७ पटक पढिएको
अध्यक्ष पदबाट हटाउन ओलीको चुनौती : ‘मलाई हटाएर देखाऊ’

काठमाडौं, ३१ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् ।  ‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’ इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ।

खुला चुनौती दिंदै उनले भनेका छन्, ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त ।’

पार्टीभित्र अनुशासनहिनता, अराजकता देखा परेको भन्दै उनले ख्याल ठट्टामा अध्यक्ष हटाउने कुरा नगर्न चेतावनी दिए । ‘ख्याल-ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आभाराहरू अध्यक्ष हटाउने कुरा … मानिलिऔं, ख्याल हो, ठट्टा हो जस्तो हो जस्तो गरेर’, उनले भने ।

अध्यक्ष ओलीले जसले अध्यक्षबाट आफूलाई हटाउने भनिरहेको छ, ऊ पार्टी सदस्य नै छ कि छैन भनेर पनि प्रश्न गरेका हुन् । चिया पिएर गफ गर्दैमा पार्टी अध्यक्ष नहट्ने उनको भनाइ छ । उनी थप्छन्, ‘के मजाक हो यस्तो !’

एमाले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने भनेर कतिपयले हस्ताक्षर अभियान नै सुरु गरेका छन् । यसप्रति पनि अध्यक्ष ओलीले रोष प्रकट गरे । उनले भनेका छन्, ‘कोही हस्ताक्षर गर्दै हिंड्या छन् अध्यक्ष हटाउने भनेर । यसका पछाडि केही दम छैन, केही छैन’, उनले भनेका छन्, ‘न पार्टीको तरिका न विधान । अस्ति महाअधिवेशन भएको थियो । आफैं पनि सहभागी भयो होला ।’

पार्टीमा के गर्ने भनेर विधि र समय हुने उनले बताए । अध्यक्ष ओलीले भनेका छन्, ‘जति बेला विरोधी शक्ति तिव्र प्रहार गरेको छ, हामीलाई झेल्नु मुस्किल भइरहेको छ । त्यतिबेला सिंगै पार्टी एकजुट भएर एकताबद्ध भएर एकताबद्ध पार्टीले सामना गर्नु पर्ने, मुकाबला गर्नु पर्ने ठाउँमा यति बेला पार्टी भित्र अध्यक्ष हटाउँछु भन्या छ, के भन्या छ । अहिले यी सबै कुरा हरु बेकार छन् ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस