
काठमाडौं, ३१ साउन। नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित ३ दिने राष्ट्रिय भेलाको समापन सत्रमा शीर्ष नेताहरूबिच ‘धर्मको विषयलाई लिएर सार्वजनिक रूपमै विवाद देखिएको छ । भेलाले पारित गरेका निर्णयहरू सुनाउने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा.प्रकाशशरण महतबिच भनाभन र कागज खोसाखोस भएको हो।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा निर्णयहरू वाचन गर्ने तयारी भइरहँदा दुई नेताबिच विवाद भएको हो । विवादको मुख्य जड भेलाको प्रस्तावमा समेटिएको ‘धर्म’ सम्बन्धी वाक्य रहेको थियो।
डा.महतले निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखेका थिए। तर, विमलेन्द्र निधिले उक्त शब्दावलीमा असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर सिधै ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने अडान लिएका थिए।
यही विषयमा कुरा नमिल्दा कार्यक्रमको ‘लाइभ’ भइरहेकै समयमा दुई नेताबिच केही बेर लफडा परेको थियो। विवाद बढ्दै जाँदा दुई नेताले निर्णय लेखिएको कागज नै एकापसमा खोसाखोस गरेको दृश्य मञ्चमा देखिएको थियो।
मञ्चमै शीर्ष नेताहरूबिच खोसाखोस र विवाद भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए । देउवाको निर्देशनपछि डा। महतले नै तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको थियो।
सभापति देउवाले यसअघि आफ्नो सम्बोधनमा पनि आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने तर सबै धर्मलाई सम्मान गर्ने धारणा राखेका थिए ।
यसबारे पछि देउवाले प्रष्टीकरण पनि दिएका थिए ।
