
काठमाडौं, ३१ साउन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छन् ।
मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न युवासँग आग्रह गरेकी हुन् ।
‘कुनैपनि राजनीतिक विचार समय समयसँगै विकसित हुँदै जानुपर्छ । त्यसैले तपाईँहरू आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुस्, आफ्ना विचार व्यक्त गर्नुस्,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अरूका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुहोस् ।’
लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा नभई फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुने उनले बताइन् ।
