
काठमाडौं, ०१ भदौ। असार र साउन महिनामा मन्त्रिपरिषद्ले गरेका निर्णयहरूको एकीकृत विवरण सार्वजनिक भएको छैन ।
मन्त्रिपरिषद्को बैठक बसेको दिनमा नै सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुख्य–मुख्य निर्णयहरू सार्वजनिक गर्छन् ।
तर एकीकृत विवरण महिनाअनुसार सार्वजनिक गर्दै आएको छ ।
पहिल्लो पटक जेठ महिनासम्म भएका निर्णयहरू सार्वजनिक भएको छ । तर असार र साउन महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरूको एकीकृत विवरण सार्वजनिक भएको छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना, प्रेस तथा संसद् समन्वय शाखाका शाखा अधिकृत प्रज्वल घिमिरे मन्त्रिपरिषद् बैठकमा महिना अनुसार एकीकृत विवरण सार्वजनिक गरिने बताउँछन् ।
उनी भन्छन्, ‘असार र साउन महिनाको निर्णयहरू वेबसाइटमा राख्न बाँकी रहेछ । यो राखिन्छ ।’
हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पछिल्लो चार महिने प्रगति विवरण सार्वजनिक गरेको छ । जसमा मन्त्रिपरिषद्को बैठक संख्या र निर्णय संख्या राखिएको छ ।
‘२०८३ साल वैशाख १ गतेदेखि असार मसान्तसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएको छ’ उक्त विवरणमा उल्लेख छ ।
अर्थात्, मन्त्रिपरिषद्का पछिल्ला ३८४ वटा निर्णयहरूमा साउन महिनाको निर्णयहरू समावेश छैन । यो सहितको विवरण छिटै सार्वजनिक गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

