‘जनताका लागि एम्बुलेन्स छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर?’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (१ घण्टा अघि)
  • २८ पटक पढिएको
‘जनताका लागि एम्बुलेन्स छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर?’

काठमाडौं, ०१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गेलालले मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रुपमा घुम्न ननिस्कन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ, तपाईंहरूलाई देश घुम्ने रहर हो कि, समस्या समाधान गर्ने हुटहुटी ?,’ उनले भने, ‘बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस् । नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस् ।’

देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र समाधानका उपाय समेत सम्बन्धित क्षेत्रका सांसदहरूले दिन सक्ने उनले सुझाए । यसको लागि जम्बो सल्लाहार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक नरहेको उनले बताए ।

अनि उनले जनताले के चहिरहेका छन् भनेर ख्याल गर्न आग्रह गरे ।

‘आज जनता ग्यास, मल, संचार सेवा, विद्युत, आधारभुत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन्’ उनले भने ।

तर मन्त्रीहरूको व्यवहर यसअनुसार नरहेको भनेर प्रश्न गरे । ‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ । तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डाक्टर हुँदैनन्’ उनले भने।

बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । धनगढीबाट काठमाडौँमा सेनाको स्काइ ट्रकमार्फत ल्याइएको हो ।

लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पुर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।

त्यसक्रममा बिरामी भएपछि काठमाडौं आएका हुन् । उनी हाल डिस्चार्ज भइसकेका छन् ।

यो विषयमा संसद्मा सत्तारुढ दल रास्वपाकै सांसदहरूले प्रश्न उठाएका हुन् ।

साथै रास्वपा सांसद गेलालले मन्त्रीहरूलाई जिल्ला पुगेर भिडियो बनाएर सार्वजनिक गर्दैमा जनता खुसी नहुने पनि बताए।

उनले भनेका छन्, ‘मन्त्रीज्यूहरू तपाईंहरूका भिडियो र प्रचारले जनता खुसी हुँदैनन् । जनताको घर घरमा मन्त्री पुग्ने होइन । सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ ।’

उनले थपेका छन्, ‘देश नघुम्नुस्, देशको समस्या समाधान गर्नुस् ।’

पछिल्लो समयमा मन्त्रीहरू जिल्ला भ्रमणका छन् । जिल्ला भ्रमणका क्रममा मन्त्रीहरूले आगामी स्थानीय तहको चुनाव केन्द्रित अभिव्यक्ति दिने र रास्वपाका उम्मेदवारलाई आगाम चुनावमा मत दिन आग्रह गरिरहेका छन् ।

यो पृष्ठभूमिमा रास्वपाकै सांसदहरूले मन्त्रीहरूको कार्यशैली र देश दौडाहप्रति प्रश्न उठाएका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस