
काठमाडौं, ०३ भदौ। भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने नेपाल भ्रमण पूरा गरी आज स्वदेश फर्किँदैछन् । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी आइतबार काठमाडौं आएका थिए ।
वीरगञ्ज । नेपाल बसाइका क्रममा सेनाध्यक्ष सेठले उच्चस्तरीय राजनीतिक तथा सैनिक नेतृत्वसँग भेटवार्ता गरेका छन्। मंगलबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरे।
त्यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहिआएको छ। दुई देशबीचको विशिष्ट सैन्य सम्बन्धको प्रतीकका रूपमा यस परम्परालाई लिइन्छ।
सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल–भारतबीचको पारस्परिक हित तथा दुई देशका सेनाबीचको सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भेटका क्रममा सेनाध्यक्ष सेठले नेपाली सेनालाई विभिन्न सैन्य तथा स्वास्थ्य उपकरण समेत हस्तान्तरण गरेका थिए। उपकरण हस्तान्तरणलाई दुई देशका सेनाबीचको निरन्तर सहयोग र सहकार्यको एक महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।
नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष सेठले धार्मिक तथा सांस्कृतिक स्थलको समेत भ्रमण गरेका थिए। उनले पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेका थिए।
नेपाली सेनाका अनुसार मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस्तो भ्रमणले नेपाल र भारतबीचको परम्परागत तथा घनिष्ठ सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन सहयोग पुग्नेछ।
