विवाद समाधानका लागि सानेपा आउन संस्थापन इतर समूहलाई पौडेलको आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (२ हप्ता अघि)
  • ८३ पटक पढिएको
विवाद समाधानका लागि सानेपा आउन संस्थापन इतर समूहलाई पौडेलको आग्रह

काठमाडौ, ०५ भदौ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सबै पक्षलाई संवादमा आउन अपिल गरेका छन् ।

उनले शुक्रबार विज्ञप्ति जारी गरेर पार्टीको आन्तरिक विवाद राजनीतिक संवादबाट समाधान गर्नुपर्ने बताएका छन् ।

मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको समयमा कांग्रेस आफैं सजग र सुदृढ हुन नसके देश ठूलो राजनीतिक विग्रहको भुमरीमा फस्ने जोखिम रहेको महामन्त्री पौडेलको भनाइ छ ।

उनले पार्टीभित्रको असन्तुष्टि र विमतिलाई सडक तथा अदालतसम्म लैजानुभन्दा पार्टी कार्यालय सानेपामा बसेर संवाद गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन । मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनुहुँदैन,’ पौडेलले भनेका छन्, ‘राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ ।’

पौडेलले असन्तुष्ट नेता, कार्यकर्ता र शुभेच्छुकलाई फरक विचारसहित पार्टीको साझा मन्दिर सानेपा आउन आग्रह गरेका छन् ।

‘सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु कि आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्,’ उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

महामन्त्री पौडेलले विगतका कमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको स्वीकार गर्दै संवादमार्फत अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आसन्न १५औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले सुम्पिएको नेतृत्व स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

‘सानेपामा बसेर मनैदेखि संवाद गरौं । विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौं,’ उनले भनेका छन्, ‘आगामी १५औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं ।’

पौडेलले कांग्रेसभित्रको विभाजनले लोकतन्त्र र मुलुकलाई नै कमजोर बनाउने पनि उल्लेख गरेका छन् ।

‘यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘समयमै गल्ती सच्याएनौं भने इतिहासले हामीलाई क्षमा दिने छैन ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस