वैशाखयता ३ सचिवसहित ३७६ निजामती कर्मचारीले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (५ घण्टा अघि)
  • ४९ पटक पढिएको
वैशाखयता ३ सचिवसहित ३७६ निजामती कर्मचारीले दिए राजीनामा

काठमाडौ, ०५ भदौ। पछिल्लो चार महिनाको अवधिमा ठूलो संख्यामा निजामती कर्मचारीहरूले सेवाबाट राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत वैशाखदेखि साउन मसान्तसम्मको अवधिमा ३७६ जना कर्मचारीले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरूमा नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका उच्चपदस्थ अधिकारीहरूको संख्या उल्लेख्य छ । किताबखानाका निर्देशक एवं सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले दिएको जानकारी अनुसार, यो अवधिमा विशिष्ट श्रेणीका ३ जना सचिव, प्रथम श्रेणीका ७० जना सहसचिव र द्वितीय श्रेणीका ६५ जना उपसचिवले राजीनामा बुझाएका छन् ।

राजीनामा दिने सचिवहरूमा गोविन्द शर्मा र डा. कमलप्रसाद पोखरेललगायत रहेका छन् । त्यसैगरी, राजीनामा दिने ७० सहसचिवहरूमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत सहसचिव लेखनाथ ज्ञवाली,  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिवद्वय विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली निजामती प्रशासनमा एकैपटक यति ठूलो संख्यामा, विशेष गरी सहसचिव र उपसचिव तहका कर्मचारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राजीनामा दिने अन्य कर्मचारीहरूमा अधिकृत र सोभन्दा मुनिका सहायकस्तरका कर्मचारीहरू रहेका छन् ।

सरकारले ल्याउने तयारी गरेको निजामति सेवा ऐनमा ५५ वर्षमा अनिवार्य अवकास र ३० वर्षे सेवाअवधि तोकिएको भन्दै त्यसबा६ बच्नका लागि पनि उपल्लो तहका कर्मचारीले राजीनामा दिएको हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन् ।
यति छोटो अवधिमा यति धेरै उच्च अधिकारीहरूले सेवा छाडेको यो पहिलो पटक भएको पनि किताबखानामा कार्यरत कर्मचारीहरू बताउँछन् ।
यसभन्दा अगाडि राजीनामा दिएर जाने भन्दा अनिवार्य अवकासमा जाने कर्मचारीको रेसियो बढि हुने गरेकोमा अहिले भने राजीनामा दिने कर्मचारीको रेसियो अनिवार्य अवकासमा जाने कर्मचारीको भन्दा बढेको किताबखानाले जानकारी दिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस