एमालेका मन्त्री फिर्ता बोलाउँदै गण्डकी सरकार, फणिन्द्रको पुनः इन्ट्री पक्का

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
एमालेका मन्त्री फिर्ता बोलाउँदै गण्डकी सरकार, फणिन्द्रको पुनः इन्ट्री पक्का

पोखरा, ०९ भदौ। गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने भएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले हटाउनुभन्दा पहिले नैतिकताको आधारमा राजीनामा गराउन आग्रह गरेका थिए ।

नेकपा एमाले गण्डकीको संसदीय दलको बोर्ड बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने तयारी भएको हो । नेकपा एमालेबाट गोविन्द नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, भीम कार्की भूमि व्यवस्था कृषि तथा सहकारी,  यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थमन्त्री छन् ।

मुख्यमन्त्री पाण्डेले यही २ वैशाखमा मन्त्रिपरिषद् हेरफेर गरेका थिए । नेपाली कांग्रेस र एमालेका सबै मन्त्री हेरफेर गरेर मुख्यमन्त्री पाण्डे काठमाडौं हानिएका थिए । एमाले संसदीय दलको बोर्ड बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने र सरकार गठनका लागि अन्य दलसँग छलफल पनि सँगै जारी राख्ने विषयमा निर्णय हुने एक पदाधिकारीले बताए ।

एमाले संसदीय दलको प्रमुख सचेतक देवका पहारीले अहिले बैठक बसेर सरकारको विषयमा छलफल गरेर निर्णय लिइने बताइन् । अर्का एक सांसदका अनुसार मन्त्रीहरुको राजीनामा गराउने तयारी भएको जानकारी दिए ।

नेकपा एमालेबाट यसअघि पद्मा जिसीले कृषि, कृष्ण पाठकले स्वास्थ्य, प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार र मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालय सम्हालेका थिए ।

नेपाली कांग्रेसबाट अर्थमा डा. टकराज गुरुङको ठाउँमा जीत शेरचन, सामाजिकमा विन्दुकुमार थापाको ठाउँमा रेखा गुरुङ, वनमा भेषबहादुर पौडेलको ठाउँमा नाम्डु गुरुङ र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्री सँगै रहेको ऊर्जा जलस्रोतमा नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाएका थिए । देवकोटाले २३ भदौको जेनजी आन्दोलनमा भएको मानवीय क्षतिपछि मन्त्रीबाट राजीनामा दिएका थिए । उनी फेरि नियुक्त भएर जान लागेका हुन् ।

एमालेको बोर्ड बैठकमा दलका नेता खगराज अधिकारी, उपनेता लिलबहादुर थापा, प्रमुख सचेतक देवका पहारी, सचेतक भक्त कुँवर, सांसद सुधीर पौडेल र सीता सुन्दास सदस्य छन् ।

दुई पटकसम्म सर्वोच्च अदालतमा रिट हालेर खगराज नेतृत्वको सरकारलाई पदमुक्त गरेपछि सुरेन्द्रराज २०८१ जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ कांग्रेसका, राप्रपाका २, देवकोटा र मनाङबाट स्वतन्त्र विजयी राजीव गुरुङ (दीपक मनाङे) ले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । मनाङे पदमुक्त भएका छन् भने अन्यले समर्थन फिर्ता लिएका छैनन् ।

नेपाली कांग्रेस र एमालेले सहकार्य गरेर जाने सहमति भएको १ महिनापछि २०८१ मध्य भदौमा मुख्यमन्त्री पाण्डेले बल्ल एमालेका ४ मन्त्री नियुक्त गर्दै सरकारमा सहभागी गराएका थिए । तर, अहिले केन्द्रमा फेरि एमाले र नेकपा मिलेर जाने भन्दै ३ बुँदा सहमति गरेपछि सबैजसो प्रदेशमा सरकार फेरबदलको कसरत चलिरहेको छ ।

गण्डकी र मधेशमा भने एमाले–नेकपाले संख्याकै कारण निर्णय गरेका थिएनन् । गण्डकीमा एमालेका २२ र नेकपाका ६ सांसद मिल्दा पनि सरकार बनाउन बहुमत पुग्दैन । गण्डकीमा दुवैतिर राप्रपा निर्णायक बनेको छ र उसले पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका खगराजले राप्रपालाई फकाउने कोसिस गरेका थिए । तर, केन्द्रकै निर्णयअनुसार तत्काल तटस्थ बस्ने बताएको राप्रपा बागमतीमा भने एमालेसँग रुष्ट छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका सांसदहरू भड्काएको आरोप समेत छ । त्यसैले पनि तत्काललाई मन्त्रीहरू फिर्ता बोलाउने तर सरकार निर्माणको कसरत पनि जारी राख्ने एमालेको योजना छ ।

एमालेले मन्त्री फिर्ता बोलाउने भएसँगै नयाँ मन्त्री छान्न मुख्यमन्त्री पाण्डेले काठमाडौंबाटै नेतृत्वसँग एक चरणमा छलफल गरेर फर्किएको नेताहरूको भनाइ छ । पाण्डे सरकारमा माओवादी चुनाव चिह्नबाट विजयी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का सांसद फणिन्द्र देवकोटा मन्त्री बन्ने पक्काजस्तै छ । उनलाई फेरि पनि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयकै जिम्मेवारी दिनेबारे छलफल चले पनि देवकोटाले भौतिक पूर्वाधार मन्त्रालय ताकिरहेका छन् ।

कांग्रेसबाटै मन्त्री बनाउँदा तनहुँका अशोक श्रेष्ठ, बागलुङका डिल्लीराम सुवेदी र  यसअघि राजीनामाकै घोषणा गरेर घुर्की लगाएका द्रोण कुँवरको सम्भावना बढी छ । स्याङ्जाका महेश भट्टराई र बागलुङकी दिलमाया पौवीले पनि दाबी गरिरहेका छन् । तर, कांग्रेसबाट तत्काललाई २ जना मन्त्री नियुक्त हुने नेताहरूले जनाएका छन् ।

राप्रपाका दुवै जना सांसदलाई मन्त्री बनाउने प्रस्ताव दुवैतिरबाट गएको थियो । तर, राप्रपाको नीति तत्काल सत्तामा नजाने भएकाले मन्त्री नियुक्त नहुने नेताहरूको भनाइ छ ।

एमालेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । हटाउनुभन्दा पहिले नै सरकारबाट फिर्ता बोलाएर मार्ग प्रसस्त गरिदिनुपर्ने उनले बताइहेका थिए । केन्द्रमै सहमति भइसकेपछि गण्डकीमा पनि लामो समय यही सरकार जान नसक्ने उनको भनाइ थियो । एमाले संसदीय दलका नेता तथा मन्त्रीहरू भने गण्डकीमा मिलेरै सरकार बनाउन सकिने बताइरहेका थिए ।

अनलाइनखबरसँग कुराकानी गर्दै एमाले संसदीय दलका नेता खगराजले मुख्यमन्त्री पाण्डेले भनिरहेको विषय आफूहरूको जानकारी रहेको प्रतिक्रिया दिए । केन्द्रमा जे-जस्तो सहमति भए पनि प्रदेशको स्थिरता आफूहरूको प्राथमिकतामा रहेको अधिकारीको भनाइ थियो ।

‘पहिलो कुरा त प्रदेश सरकारको औचित्यलाई प्रश्न नहोस् भन्ने कुरामा गम्भीर छौँ हामी । त्यसैले मिलेरै जाउँ भन्ने कुरा हाम्रो थियो,’ अधिकारीले भने, ‘कांग्रेस, एमाले, माओवादी भएर झगडा गर्ने होइन कि सरकारलाई गलत काम गर्न नदिनुपर्ने अवस्था छ । देश र संविधान जोगाउनुपर्ने छ, मुख्य कुरा त्यता हो हाम्रो ध्यान ।’

सरकारमा एमालेले नैतिकता हेरेर राजीनामा दिनुपर्छ भन्ने मुख्यमन्त्रीले पनि त आफ्नो नैतिकता हेर्नुपर्छ होला भन्ने खगराजको भनाइ थियो । उनले मुख्यमन्त्रीले भनिरहेको कुरा आफूलाई थाहा भएको र उपयुक्त बेलामा निर्णय गर्ने अधिकारीले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस