उखुको समर्थन मूल्य तोक्न ११ जिल्लामा लागत अध्ययन सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • ५८ पटक पढिएको
उखुको समर्थन मूल्य तोक्न ११ जिल्लामा लागत अध्ययन सुरु

काठमाडौ, ०९ भदौ। उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अघि बढाएको छ ।

यसका लागि कृषि विभागले उखुखेती धेरै हुने तराईका ११ वटा जिल्लाहरूमा स्थलगत अध्ययन सुरु गरिसकेको छ ।

विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्यांक जुटाइरहेको विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार यसै सर्वेक्षणबाट प्राप्त यथार्थ विवरणका आधारमा नयाँ समर्थन मूल्य प्रस्ताव गरिनेछ । अहिले भइरहेको अध्ययनमा अघिल्ला वर्षहरूको तुलनामा ढुवानी, उत्पादन तथा अन्य विविध खर्चमा आएको परिवर्तनको समेत सुक्ष्म मूल्यांकन गरिने उनले जानकारी दिए ।

विभागले यो अध्ययन प्रतिवेदन तयार पारिसकेपछि थप छलफल र सहमतिका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पेस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्को बैठकले उखुको खरिद मूल्य र किसानलाई सरकारले उपलब्ध गराउने अनुदान रकमको अन्तिम टुंगो लगाउने महानिर्देशक सञ्जेलले बताए ।

बजारमा कृषिउपजको भाउ घट्दा किसानले ठूलो घाटा व्यहोर्नु नपरोस् र उनीहरूको लगानी सुरक्षित होस् भन्नका लागि सरकारले वर्षेनी उखु, धान लगायतका बालीको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । अघिल्लो वर्ष सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र किसानलाई दिइने अनुदान ७० रुपैयाँ कायम गरेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस