मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न, व्यवसायिक समस्या समाधानमा जोड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • ७७ पटक पढिएको
मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न, व्यवसायिक समस्या समाधानमा जोड

काठमाडौ, ०९ भदौ। नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।आइतबार एभरेस्ट होटलमा अयोजित साधारण सभा संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको सभापतित्वमा आयोजित सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आतिथ्य रहेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले अवैध रूपमा राजस्व नतिरी नेपाल भित्र्याइएका मोबाइल फोनहरूको नियन्त्रणका लागि प्राधिकरण प्रतिबद्ध रहेको बताउनुभयो। विगतमा जे-जस्ता चुनौतीहरू आए तापनि बिना भन्सार भित्रिएका फोनहरूलाई सञ्चालनमा रोक लगाउन एमडीएमएस (MDMS) प्रणाली लागू गराइछाड्ने उहाँले स्पष्ट पार्नुभयो। यदि एमडीएमएस प्रणाली लागू गर्न कठिनाइ आएमा अन्य कुनै पनि उपयुक्त विधि वा प्रविधि अपनाएर भए पनि अवैध फोन नियन्त्रण गरी प्रणाली लागू गराउने धारणा उहाँले व्यक्त गर्नुभयो।

​कार्यक्रममा बोल्दै मोबाइल इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल वितरकहरूले भोगिरहेको न्यून मार्जिनको समस्या तथा मूल्य वृद्धिका कारण सामान आयातमा आएको कमीप्रति चिन्ता व्यक्त गर्नुभयो। अवैध फोनको बिक्री-वितरण नियन्त्रण र बजारका वर्तमान समस्याहरू समाधान गर्न इम्पोर्टर (आयातकर्ता), डिस्ट्रिब्युटर (वितरक) र रिटेलर (खुद्रा विक्रेता) तिनै पक्षका प्रतिनिधिहरू सम्मिलित एक विशेष कार्यदल गठन गरिने उहाँले घोषणा गर्नुभयो। सो कार्यदलले समग्र मोबाइल व्यवसायमा देखिएका चुनौतीहरू अध्ययन गरी समाधानका उपायहरूमा काम गर्नेछ।

​नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले बजारमा देखिएका समस्या समाधान गर्न आयातकर्ता, वितरक र खुद्रा मोबाइल व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले व्यवसायीहरूको मार्जिनको विषयका साथै खुद्रा मोबाइल व्यवसायीहरूले दिनहुँ भोग्नुपरेका व्यावहारिक समस्याहरूबारे आफ्नो स्पष्ट विचार व्यक्त गर्नुभयो।

​क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारीले साइबर सुरक्षाको वर्तमान अवस्था र चुनौतीहरूबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो। नेपालमा तीव्र रूपमा साइबर अपराधका घटनाहरू बढिरहेकाले यसको न्यूनीकरणका लागि विद्यालय (स्कुल) तहदेखि नै साइबर सुरक्षा सम्बन्धी पाठ्यक्रम र शिक्षा प्रणाली लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, नागरिक समाज र सरकारी तथा नियमनकारी निकायहरू सचेत रहँदै विभिन्न माध्यमबाट व्यापक जनचेतना (अवेयरनेस) फैलाउनुपर्ने धारणा उहाँले राख्नुभयो। संघका निवर्तमान अध्यक्ष दिनेश चुल्याधोले
​ संस्था स्थापनाको १० वर्ष पूरा भएको अवसरमा दशक लामो यात्राका उतारचढावहरू स्मरण गर्नुभयो। उहाँले समग्र मोबाइल क्षेत्रमा रहेका अवसर, विद्यमान चुनौती र संघले खेलेको ऐतिहासिक भूमिकाबारे प्रकाश पार्नुभएको थियो।

​कार्यक्रमका सभापति एवं नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठीले देशमा अवैध रूपमा भित्रिने र बिक्री हुने मोबाइल फोनका कारण राज्यले वार्षिक ३ अर्ब रूपैयाँभन्दा बढी राजस्व गुमाउनु परेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँले सरकारले तुरुन्त ठोस नीति ल्याई अवैध फोनको कारोबार गर्नेहरूलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन जोडदार माग गर्नुभयो।
​यसैगरी, वितरकहरूले अत्यन्तै थोरै मार्जिनमा काम गर्नुपर्ने बाध्यता रहेको र यसकै कारण अहिले व्यवसायी तथा डिस्ट्रिब्युटरहरू पलायन हुने स्थिति सिर्जना भएकोमा उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो।
​देशभरका वितरकहरूको बाक्लो उपस्थिति
​उक्त भव्य समारोहमा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, विभिन्न ब्रान्डका मोबाइल आयातकर्ताहरू, उत्पादक कम्पनीका प्रतिनिधिहरूका साथै नेपालभरिबाट स्वतःस्फूर्त रूपमा काठमाडौँ आएका मोबाइल वितरक साथीहरूको बाक्लो र उत्साहजनक सहभागिता रहेको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस