कर्णालीमा मन्त्री छनोटमा विवाद, नेकपा सचेतककै अगुवाइमा केन्द्रीय कार्यालयमा पत्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • ५७ पटक पढिएको
कर्णालीमा मन्त्री छनोटमा विवाद, नेकपा सचेतककै अगुवाइमा केन्द्रीय कार्यालयमा पत्र

सुर्खेत, ०९ भदौ। कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र गुटबन्दी सुरु भएको छ ।

मन्त्री बन्न र बनाउने खेलका लागि नेपाली कम्युनिस्ट पार्टी संसदीय दलभित्रै गुटबन्दी सुरु हुँदा सरकारले पूर्णता पाउन सकिरहेको छैन ।

नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीको अगुवाइमा ६ जना सांसदले मुख्यमन्त्री मंगलबहादुर शाहीविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोही पत्रका कारण सोमबार बिहान ११ बजेका लागि प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ कार्यक्रम रोकिएको मुख्यमन्त्री निकट स्रोतको दाबी छ ।

मुख्यमन्त्री शाहीले आफ्नो दलको भागमा परेका ३ वटा मन्त्रालयका लागि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्कालाई मन्त्री बनाउन खोजेका थिए । सोही अनुसार, उनले सोमबार बिहान प्रदेश प्रमुखको कार्यालयमा फोन गरी समय मागेका थिए, तर साढे १० बजेसम्म पनि नियुक्त गर्नुपर्ने मन्त्रीको सूची दिन सकेनन् ।

पछि एक्कासि उनी आफैँ प्रदेश प्रमुखको कार्यालय पुगेर शपथ कार्यक्रम स्थगन गर्न आग्रह गरे । ‘पार्टीमा कुरा मिलेन, शपथ रोकिदिनुपर्‍यो,’ स्रोतका अनुसार मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसँग भनेका थिए ।

प्रदेश प्रमुख जोशीले शपथ कार्यक्रम तोकिसकेपछि अन्तिममा आएर रोक्दा बाहिर राम्रो सन्देश नजाने सुझाव दिएका थिए । ‘बरु केही घण्टाका लागि समय सारौँ भन्ने कुरा प्रदेश प्रमुखको थियो,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘तर मुख्यमन्त्रीले केही दिन लाग्लाजस्तो छ भनेपछि पुनः समय तोकिएन ।’

नेकपाकै सचेतकको अगुवाइमा ६ जना सांसदले पार्टी केन्द्रीय कार्यालयमा बुझाएपछि शपथ रोकिएको मुख्यमन्त्री निकट स्रोतको भनाइ छ । उक्त पत्रमाथि छलफल गर्नुपर्ने भनेर हेडक्वार्टरबाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले फोन गरेपछि मुख्यमन्त्री शाहीले शपथ रोकेका हुन् । ‘उहाँ दलको नेता पनि हो, एक खालको निर्णय भइसकेपछि अर्कातर्फबाट केन्द्रबाट पत्र पठाउने काम भयो,’ मुख्यमन्त्री निकट स्रोत भन्छ, ‘माथिबाट फोन नै आइसकेपछि तनाव भयो नि !’

यसअघि एमालेसँग भागबन्डाको कुरा नमिलेका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या भएको भनिए पनि स्वयं मुख्यमन्त्रीकै दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको देखिन्छ । मुख्यमन्त्री शाहीले एक महिनासम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

यसअघि एमालेले आफ्नो भागमा परेका ३ मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।

  • जसले लाभको पद प्राप्त गरिसके, उनै मोर्चाबन्दीमा

मोर्चाबन्दी गरेर केन्द्रमा पत्र बुझाउने कार्यमा नेकपा प्रमुख सचेतक जिसी, कल्याणी खड्का, दुर्गबहादुर रावत, भीमप्रकाश शर्मा, रणसिं परियार सहभागी छन् । यस्तै, उपसभामुख यशोदा कुमारी न्यौपाने पनि यो कार्यमा सहभागी बनेपछि पार्टीभित्र रडाको मच्चिएको छ ।

पत्र तयार पार्नेदेखि सांसदलाई सहभागी गराउने कार्यमा जिसी आफैँ सक्रिय थिए । ‘के लफडा हो भन्ने बुझ्न गाह्रो भयो,’ जिसीले ध्यानाकर्षण पत्रमा सहभागी गराउन खोजेका तर सहभागी नबनेका एक सांसदले रातोपाटीसँग भने, ‘एकातिर उहाँहरू आफैँ पुनः मन्त्री हुन खोज्नु भएको देखिन्छ भने अर्कातिर मन्त्रीका लागि मुख्यमन्त्रीले नाम फाइनल गरेका साथीलाई रोक्न खोज्नु भएको देखिन्छ ।’

यसअघि लाभको पदका पुगिसकेका र अहिले पनि ठुलै पदमा रहेकाबाट यस्तो कार्य भएपछि मुख्यमन्त्री शाही अहिले तनावमा छन् ।

६ जनामध्ये सचेतक जिसी यसअघि राजकुमार शर्मा नेतृत्वको सरकारमा कानुनमन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका थिए ।

यस्तै, यामलाल कँडेल नेतृत्वको सरकारमा दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र रणसिं परियार जलस्रोत तथा ऊर्जामन्त्री बनेका थिए ।

कल्याणी खड्का पनि प्रदेश मामिला समितिको सभापति छिन् । सचेतक जिसी, खड्का र उपसभामुख न्यौपाने अहिले पनि सरकारी सुविधा पाउने पदमै छन् । तर यिनै अहिले मोर्चाबन्दीमा सहभागी बनेपछि मुख्यमन्त्री नै अचम्ममा परेका छन् । उपसभामुख न्यौपाने पनि राजीनामा दिएर मन्त्री बन्नुपर्छ भन्ने लाइनमा छिन् ।

अन्य प्रदेशमा यसअघि मन्त्री भएकाहरू दोहोरिएपछि पुनः आफू मन्त्री बन्नुपर्छ भनेर यी सांसद कस्सिएर लागेको स्रोत बताउँछ ।

अर्कातर्फ कल्याणी खड्काले आफू साबिक समाजवादीको कोटाबाट भए पनि मन्त्री बन्नुपर्छ भनिरहेकी छन् । १३ सांसदमध्ये साबिक समाजवादीबाट उनी एकमात्र समानुपातिक सांसद हुन् ।

ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका सांसद दुर्गबहादुर रावतले विशेषगरी पार्टीको प्रदेश कमिटी संयोजक विमला केसीको शैलीविरुद्ध पत्र लेखिएको बताए । ‘पत्रमा संयोजकजीलाई सम्बोधन नै गरी पहिला व्यक्ति तोक्ने अनि नीति बनाउने भावनाविरुद्ध हामीले ध्यानाकर्षण होस् भनेर लेखेका छौँ,’ रातोपाटीसँग उनले भने, ‘यस्ता गतिविधिले पार्टी दुर्घटनामा जान्छ भनिएको हो ।’

यसअघि केसी र मुख्यमन्त्री शाहीबिच छलफल भएर नै विन्दमान, जुम्कित र मिलनको नाम मन्त्रीका लागि फाइनल गरिएको थियो । उक्त पत्रमा शपथ रोक्नुपर्छ नभनेको तर केसीको कार्यशैली रोक्नुपर्छ भनिएको रावतको भनाइ छ । त्यही पत्रका कारण शपथ रोकियो नि भन्ने प्रश्नमा उनले भने, ‘रोकियो होला, तर शपथ रोक्नुपर्छ भनेका थिएनौँ ।’

विशेषगरी एउटा टिम विन्दमान विष्टलाई मन्त्री बन्नबाट रोक्नुपर्छ भन्ने तरिकाले लागेको स्रोतको दाबी छ । सुर्खेत निवासी विष्ट प्रदेश सभाको पहिलो कार्यकालमा अर्थमन्त्री बनेका थिए । उनलाई नेकपा कर्णालीभित्र क्षमतावान नेताका रूपमा चिनिन्छ । साबिक माओवादीकै केही नेता उनलाई रोक्ने, बरु साबिक समाजवादीका कल्याणी खड्कालाई मन्त्री बनाउन सहमत देखिएको स्रोत बताउँछ ।

यस्तै, जुम्कित लामालाई पनि मन्त्री बन्नबाट रोक्नुपर्छ भन्ने अर्को टिम लागेको स्रोत बताउँछ । साथै, रुकुम पश्चिमबाट कहिले मन्त्री, कहिले मुख्यमन्त्री बनिरहने हुँदा मिलन खड्कालाई रोक्नुपर्ने केहीको धारणा छ ।

यही कचिङ्गलका बिच मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म सरकार अपूरै छ । अहिले मुख्यमन्त्री शाहीमाथि आफ्नै दल मिलाउन नसकेको भन्दै आलोचना सुरु भएको छ । अब तीन जना मन्त्रीको टुङ्गो केन्द्रबाटै प्रचण्ड—माधवले लगाउने प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताए ।

स्रोतका अनुसार, इन्चार्ज शाही र संयोजक केसी काठमाडौँतिर गइसकेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस