त्रिशूली–३ ‘ए’ सुरुङ सफाइमा तीव्रता : पाँच दिनमै २० हजार घनमिटर लेदो–ढुंगा हटाइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (१ घण्टा अघि)
  • २७ पटक पढिएको
त्रिशूली–३ ‘ए’ सुरुङ सफाइमा तीव्रता : पाँच दिनमै २० हजार घनमिटर लेदो–ढुंगा हटाइयो

काठमाडौं, १८ भदौ। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार (पोर्टल) क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ । हालसम्म दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेले बताए ।

१३ भदौदेखि नियमित रूपमा दुईवटा एक्स्काभेटर परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला बोल्डर हटाइएको उनको भनाइ छ ।

आवश्यकताअनुसार ब्रेकर तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरी २४ घण्टा नै सफाइको काम भइरहेको छ।

इन्जिनियर न्यौपानेका अनुसार हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो क्षेत्र सफा भइसकेको छ। ५.५ मिटर अग्लो सुरुङमा बाँकी करिब तीन मिटर गहिराइको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने उनले बताए ।

सुरुङभित्र पानी जमेको अवस्था नरहेको प्रारम्भिक संकेत

इन्जिनियर न्यौपानेका अनुसार त्रिशूली–३ ‘ए’को केबल डक्ट सुरुङभित्रको प्रारम्भिक अवलोकनले सुरुङको मुखबाट करिब एक मिटरसम्मको भाग लेदोले पूर्ण रूपमा भरिएको देखिएको छ। तर सुरुङबाट प्रतिसेकेन्ड करिब दुई लिटरको दरले पानी बाहिर निस्किरहेको र कुनै दबाब नरहेको उनको भनाइ छ ।

यसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको संकेत गरेको छ। पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा तथा ठूला बोल्डरहरूले अवरोध गरेको पाइएको छ।

इन्जिनियर न्यौपानेका अनुसार प्रारम्भिक अनुमानअनुसार सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुनसक्ने देखिएको छ। यद्यपि सुरुङको भित्री वास्तविक अवस्था भने पूर्ण रूपमा यकिन भइसकेको छैन।

भित्री संरचना सुरक्षित रहेको अनुमान

इन्जिनियर न्यौपानेका अनुसार १६० मिटर लामो केबल डक्ट सुरुङमध्ये करिब ६० मिटरको दूरीमा एउटा बेन्ड रहेको छ। साथै सुरुङ पावरहाउसतर्फ उकालो (अपवर्ड ग्रेडियन्ट) मा रहेकाले सुरुङको भित्री भाग सामान्य र सुरक्षित रहेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलसम्म सडक पहुँच नभएकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था रहेको उनले बताए । यसका कारण केही सामग्री घटनास्थलमा पुर्‍याउन समय लागिरहेको भए पनि उद्धार तथा सफाइको सम्पूर्ण काम निरन्तर सञ्चालन भइरहेको उनले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस