‘भदौ २३ र २४ का घटना फरक हुन्, निष्पक्ष छानबिन होस्’ : भण्डारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (१ दिन अघि)
  • ५७ पटक पढिएको
‘भदौ २३ र २४ का घटना फरक हुन्, निष्पक्ष छानबिन होस्’ : भण्डारी

काठमाडौं, २४ भदौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढंगले स्थापित गर्न आग्रह गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसको भोलिपल्ट देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी हुन्।

उनले आन्दोलनका क्रममा उठाइएका जायज माग र त्यसको मूल भावनाभन्दा भिन्न प्रकृतिका गतिविधि देखिएको उल्लेख गर्दै घटनामा बाह्य घुसपैठ वा अवाञ्छित तत्वहरूको संलग्नताको प्रश्नसमेत गम्भीर रूपमा उठेको बताएकी छन्।

‘कुनै पूर्वाग्रह वा राजनीतिक आग्रह नराखी दुवै दिनका घटनाको सत्य, तथ्य र जिम्मेवारी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गले स्थापित गरिनुपर्छ,’ भण्डारीले भनेकी छन्।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई विभिन्न सिफारिस गरिसकेको भए पनि सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको उनले उल्लेख गरेकी छन्।

सञ्चारमाध्यममार्फत प्रतिवेदनका केही विवरण सार्वजनिक भए पनि घटनाको समग्र प्रकृति तथा त्यसमा संलग्न विभिन्न पक्षको भूमिकाबारेका प्रश्न अझै पूर्ण रूपमा निरूपण हुन नसकेको उनको भनाइ छ।

भण्डारीले न्यायलाई राजनीतिक प्रतिशोधको आधार बनाउन नहुनेमा जोड दिँदै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउन तथा निर्दोषमाथि अन्याय हुन नदिन आग्रह गरेकी छन्।

‘राज्यका निकाय हुन् वा आन्दोलनमा सहभागी नागरिक, कानुन सबैका लागि समान हुनुपर्छ,’ उनले भनेकी छन्।

नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै भण्डारीले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्नुपर्ने बताएकी छन्।

लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिएको स्मरण गराउँदै उनले नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने धारणा व्यक्त गरेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस