वीरगञ्ज महानगरपालिकाले सातवटा विद्युतीय सवारी खरिद प्रक्रिया रद्द गर्‍यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २५, बिहिबार (४ घण्टा अघि)
  • ५१ पटक पढिएको
वीरगञ्ज महानगरपालिकाले सातवटा विद्युतीय सवारी खरिद प्रक्रिया रद्द गर्‍यो

वीरगञ्ज, २५ भदौ। वीरगञ्ज महानगरपालिकाले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि खरिद गर्ने तयारी गरिएका तीनवटा विद्युतीय सवारीसाधन (ईभी) तथा नगरबस सञ्चालनका लागि बुकिङ गरिएका चारवटा विद्युतीय बसको खरिद प्रक्रिया रद्द गरेको छ।

जेनजी आन्दोलनका क्रममा महानगरपालिकामा रहेका विभिन्न सवारीसाधन आगजनीबाट जलेर ध्वस्त भएपछि महानगरले नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको थियो। सोही क्रममा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि एक–एक थान गरी तीनवटा ईभी गाडी तथा नगरबस सञ्चालनका लागि चारवटा विद्युतीय बस खरिद गर्ने तयारी गरिएको थियो।

महानगरपालिकाले सवारीसाधन खरिदका लागि आवश्यक कोटेशनलगायत प्रारम्भिक प्रक्रिया पूरा गरिसकेको भए पनि पछिल्लो राजनीतिक तथा प्रशासनिक परिस्थितिका कारण खरिद प्रक्रिया रोकिएको स्रोतले जनाएको छ।

नगरप्रमुख राजेशमान सिंह हाल निलम्बनमा छन्। त्यस्तै, उपप्रमुख इम्तियाज आलमले आफ्नो कार्यकालको अन्तिम चरणमा नयाँ तथा महँगा सवारीसाधन प्रयोग नगर्ने निर्णय गरेपछि उनको लागि प्रस्तावित गाडीको खरिद प्रक्रिया अगाडि नबढाइएको महानगरपालिका स्रोतको भनाइ छ।

उपप्रमुखका लागि करिब एक करोड ३० लाख रुपैयाँ मूल्यको विद्युतीय गाडी बुकिङ गरिएको बताइएको थियो। तर कार्यकालको अन्तिम अवस्थामा महँगो गाडी खरिद गरेर प्रयोग गर्नु उपयुक्त नहुने भन्दै उपप्रमुख आलमले नयाँ गाडी प्रयोग गर्न अस्वीकार गरेका थिए।

यसैबीच, नगरबस सञ्चालनका लागि खरिद गर्ने तयारी गरिएका चारवटा विद्युतीय बसको प्रक्रिया पनि रद्द गरिएको छ। नगरबस सञ्चालन तथा व्यवस्थापनमा देखिएका विभिन्न व्यावहारिक समस्याका कारण तत्काल बस खरिद नगर्ने निर्णय गरिएको कर्मचारी स्रोतले जनाएको छ।

बस सञ्चालनका लागि आवश्यक जनशक्ति, व्यवस्थापन र जिम्मेवारीको स्पष्ट संरचना तयार नभएकाले चारवटा विद्युतीय बस खरिद गर्नु तत्काल उपयुक्त नदेखिएको स्रोतको भनाइ छ।

यसरी महानगरपालिकाले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि प्रस्तावित तीनवटा ईभी गाडी तथा नगरबसका लागि प्रस्तावित चारवटा ईभी बस गरी कुल सातवटा विद्युतीय सवारीसाधनको खरिद प्रक्रिया रद्द गरेको हो।

महानगरपालिकाले भविष्यमा आवश्यकता, जनप्रतिनिधिको अवस्था तथा नगरबस सञ्चालनको स्पष्ट कार्ययोजना तयार भएपछि पुनः सवारीसाधन खरिदसम्बन्धी निर्णय गर्न सक्ने जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस