
काठमाडौं, २८ भदौ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकमा पल्टिँदा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–६ निवासी २६ वर्षीय अजय थिङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा ट्रकका सहचालक भने सामान्य घाइते भएका छन्।
फलामको पाइप लोड गरिएको ट्रक सडकमा अचानक पल्टिएको एसपी कार्कीले बताए । ट्रकलाई दुर्घटनास्थलबाट हटाउने तयारी गरिएको छ । राजमार्ग भने सञ्चालनमा रहेको छ ।
