दर खाने दिनसँगै आजदेखि सुरु भयो चारदिने तीजपर्व

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २८, आईतबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
दर खाने दिनसँगै आजदेखि सुरु भयो चारदिने तीजपर्व

वीरगञ्ज, २८ भदौ। नेपाली नारीहरूको महान् पर्व हरितालिका (तीज)को पूर्वसन्ध्यामा आज (आइतबार) बर्तालुहरूले आडिलो एवम् मीठा परिकारका साथ ‘दर’ खाँदै छन् । आज बेलुकी दर खाएसँगै नेपाली महिलाको सांस्कृतिक पर्व तीज औपचारिक रूपमा चार दिनसम्मका लागि सुरु हुनेछ ।

भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलीबेटीलाई घरमा बोलाई वा आफन्त भेला भई दूध, घिउ तथा गहुँको रोटीजस्ता पोषिला परिकार खुवाउने परम्परा छ । सोमबार तृतीयाका दिन बस्ने नीराहार र कठोर व्रतका लागि शरीरलाई शक्ति प्राप्त होस् भन्ने उद्देश्यले शास्त्रीय विधानअनुसार दुई भाग रात बाँकी छँदै दर खाइसक्नुपर्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् ।

वर्षभरि भोगेका दुःख, पीर र मर्कालाई गीतका माध्यमबाट पोख्ने र भ्रातृप्रेम तथा पारिवारिक सम्बन्ध गाढा बनाउने पर्वका रूपमा तीजको छुट्टै पौराणिक महत्त्व छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गौरीघाटमा बसी हरितालिका व्रत बसेको र मनोकाङ्क्षा पूरा भएको पौराणिक कथाका आधारमा यो पर्व मनाउने गरिन्छ ।

तर, पछिल्ला वर्षहरूमा तीजका नाममा महिनौँ अघिदेखि दर खाने, गरगहना र पोसाकको तडकभडक प्रदर्शन गर्ने जस्ता विकृति बढेको भन्दै समाजशास्त्री तथा धर्मशास्त्रविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार महिनौँ अघिदेखि दर खानु र तामसी भोजन ग्रहण गर्नु तीजको शास्त्रीय मर्यादाविपरीत छ ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमै हुने यस्ता तडकभडकले समाजमा नहुनेहरूलाई खिन्न बनाउने र विकृतिलाई संस्थागत गर्ने भएकाले मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने उनीहरूको जोड छ ।

आज दर खाएपछि सोमबार हरितालिका तीजको मुख्य व्रत, मङ्गलबार गणेश चतुर्थी र बुधबार अरुन्धतीसहित सप्तऋषिको पूजा-आजा गरी पञ्चमीका दिन चारदिने तीजपर्व समापन हुनेछ । पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा भक्तजन महिलाहरूको विशेष घुइँचो लाग्ने गर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस