
काठमाडौं, २८ भदौ। नेकपा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा बसिरहेको छ ।
शुक्रबार च्यासलमा बसेको बैठकमा प्रस्तुत भएको प्रतिवेदनहरुमाथि छलफल गर्नेगरी नेताहरू बल्थली पुगेका हुन् ।
शनिबार साँझ आवासीय बैठक बस्नेगरी बल्थली पुगेका नेताहरू आज बिहानैदेखि छलफलमा जुटेका छन् ।
२१ फागुनको निर्वाचनमा एमालेले सर्मनाक पराजय बेहोरेपछि पार्टी पुनर्गठनका लागि तल्लो तहका नेताहरूबाट सुझाव संकलन भएको छ । ३० जेठदेखि १९ असारसम्म संकलित सुझाव समेटेर महासचिव शंकर पोखरेलले लामो प्रतिवेदन तयार पारेका छन् ।
कार्यदलका सदस्य सचिव रहेका पोखरेलले १३ समूहबाट संकलन भएको कार्यकर्ताहरूको सुझाव, निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे छुट्टा–छुट्टै प्रतिवेदन तयार छन् । तर कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापाको पुनर्गठन प्रतिवेदनमा भने असन्तुष्टि जनाउँदै ३९ पृष्ठको छुट्टै प्रतिवेदन लेखेका छन् ।
शुक्रबार सुरु भएको कार्यदलको बैठकमा यी दुवै प्रतिवेदन प्रस्तुत गरिएको थियो । तर एउटै बसाइमा छलफल नसकिने भन्दै नेताहरू आवासीय बैठक बस्न बल्थली पुगेका हुन् ।
‘आज पनि उतै बस्नुहुन्छ । भोलि कुरा टुंग्याएर नेताहरू फर्कनु हुन्छ,’ प्रचार विभाग प्रमुख निरज आचार्यले भने ।
उनका अनुसार एउटै प्रतिवेदन तयार पार्न सहमतिको प्रयत्न यो छलफलमा हुनेछ ।
