किसानको बालीको उचित मूल्य माग्दै सांसद कठरियाको सरकारलाई आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (१ दिन अघि)
  • ६० पटक पढिएको
किसानको बालीको उचित मूल्य माग्दै सांसद कठरियाको सरकारलाई आग्रह

नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग गरेकी हुन्।

सांसद कठरियाले हरेक वर्ष असार महिनामा किसानले मलको हाहाकार व्यहोर्नुपर्ने नियति दोहोरिइरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्। समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने निश्चित प्रायः छ भने, अर्कोतिर अविरल वर्षाका कारण खेतमै बाली नोक्सान भएपछि किसान थप सङ्कटमा परेका छन्।

किसानले दुःख गरेर उत्पादन गरेको धान बिक्री गर्नसमेत कठिनाइ भोगिरहेको उनले सदनमा जिकिर गरिन्।

खाद्य संस्थानहरूमा हप्तौँ लाइन बस्दासमेत सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पाउन नसक्दा किसानहरू बाध्य भएर कौडीको भाउमा व्यापारीलाई बाली बेच्न विवश भएको सांसद कठरियाको भनाइ छ।

सरकारको उदासीनताले किसानको मनोबल गिराएको भन्दै उनले भनिन्, ‘समयमा मल दिन नसके पनि कम्तीमा अहिले बाली उठाउने बेलामा सरकारले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ।’

स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल प्रभावकारी रूपमा धान खरिदको प्रक्रिया अघि बढाउन र किसानलाई राहत प्रदान गर्न उनले सरकारसँग माग गरेकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस