
रौतहट ,१३ असोज। रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरस्थित श्री माध्यमिक विद्यालय शितलपुरमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको छुट्टै कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ।
फतुवा विजयपुर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत भरत यादवले कम्प्युटर ल्याबको उद्घाटन गर्दै प्रविधिमैत्री शिक्षाको विकासमा यसको महत्वपूर्ण भूमिका रहने बताए। उनले कम्प्युटर ल्याबले विद्यार्थीको डिजिटल ज्ञान तथा सीप विकाससँगै भविष्य निर्माणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्दै विद्यालयको निरन्तर प्रगतिको शुभकामना दिए।
कार्यक्रममा फतुवा विजयपुर नगरपालिका–२ का वडा अध्यक्ष अनिरुद्ध यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राम अयोध्या यादव, रामानन्द यादव र ब्रह्मदेव यादव, प्रधानाध्यापक मुकेश यादव, लेखापाल महेश यादव, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा वक्ताहरूले सूचना प्रविधिको बढ्दो महत्वलाई ध्यानमा राख्दै विद्यालयमा कम्प्युटर ल्याब स्थापना हुनु विद्यार्थीका लागि महत्वपूर्ण अवसर भएको बताएका थिए। उनीहरूले आधुनिक र प्रविधिमैत्री शिक्षामार्फत विद्यार्थीलाई समयअनुकूल ज्ञान तथा सीप प्रदान गर्न विद्यालयले थप पहल गर्नुपर्नेमा जोड दिएका थिए।
