
रौतहट,१७ असोज। जितिया मैथिल र थारु समुदायमा मनाइने अत्यन्तै संवेदनशील, सांस्कृतिक र कठिनतम लोकपर्व हो । जनसमुदायका मान्यता र विश्वासलाई लोकपर्वको संज्ञा दिइएको छ । संस्कृत भाषाको जीवितपुत्रिका शब्दबाट अपभ्रंश भई जितिया बनेको छ । यसमा मानवीय विशिष्ट क्रियाकलाप, दैनिक जीवन र उपलब्धि सन्निहित हुन्छ, जसले जीवनशैलीलाई एउटा निश्चित धारतिर डोर्याइ रहेको हुन्छ ।
जितिया पर्वमा कुनै शास्त्रीय देवताको नभई लोकदेवताको आराधना गरिन्छ । आमाहरूले सन्तानको दीर्घायु, आरोग्य जीवनको वरदान प्राप्त गर्न लोकदेवताको पूजाअर्चना गर्ने मान्यता छ । सन्तानको रक्षाका लागि कठोर व्रत गरी लोकदेवताबाट आशीर्वादको कामना गर्नु आमाको ममत्वको उत्कर्ष रूप देखिन्छ ।
मातृत्वप्रतिको सम्मानको प्रतीक मानिएको जितिया पर्वमा आमाको सन्तानप्रतिको ममत्वको सांस्कृतिक दिग्दर्शनको बोध हुन्छ । यस पर्वले महिलाहरूको सांस्कृतिक भूमिकालाई उजागर गर्दै शिल्पगत तथ्य, वस्तु, धारणा, अभ्यास, मूल्य र परम्परालाई निर्द्वन्द्व प्रवाहित गर्दछ । मूलतः जितिया व्रत गर्नुले कुनै आकस्मिक खतराबाट रक्षा र वंश वृद्धि हुन्छ भन्ने विश्वास रहेको पाइन्छ ।
यसका लागि असोज महिनाको सप्तमीदेखि नवमी तिथिसम्म विधिपूर्वक व्रत गरिन्छ । यो व्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने प्राचीनकालदेखि मान्यता छ । पौराणिक ग्रन्थमा यो व्रतको महत्त्व महाभारतकालदेखि नै रहेको उल्लेख छ । यसमा मन, वचन र काममा शुद्धतालाई महत्त्व दिई जीवन शक्ति प्रदान गरिएको छ ।
जीवितपुत्रिका व्रत वा जिमुतवाहन व्रत पनि भनिने गरिएको जितिया अत्यन्त नियम निष्ठापूर्वक कठोर उपवासका साथ आमाहरूले जितिया पर्व मनाउने परम्परा रहेको छ । भगवान जिमुतवाहनले सन्तानको रक्षा एवं कल्याण गर्छन् भन्ने आस्था छ । यसका लागि आमाले जिमुतवाहन देवताको निर्जला व्रत बसी प्रार्थना गर्छन् । वर्तमानमा जितिया धार्मिक अनुष्ठान र सांस्कृतिक लोकपर्वका रूपमा सीमित नरही विशिष्ट उत्सव स्वरूप पनि रहेको छ ।
प्रकृति र पर्यावरणका विविध पक्षसँग गहिरो साइनोको निरन्तरताको प्रतीक रहेको जितिया पर्वले वनस्पतिक सम्पदाको संरक्षण तथा टेवालाई बल पुर्याइ रहेको छ । घिरौँलाका पात, फूल, तोरीको तेल, खरी, नरिवल, काँक्रा, केराउ, केरा केराको पात, बाँसको पात, पान पूजा सामग्रीका रूपमा प्रयोगले यसको पुष्टि गर्दछ । माटाका स्याल चिल बनाइ पूजाले पनि यसको विशिष्टतालाई उजागर गर्दछ । यी वस्तु, सामग्रीबारे शास्त्रीय पक्ष उल्लेख नभए पनि स्थान, क्षेत्र, परिवेशका उत्पादन तथा साधनहरूलाई उपयोग गरी समुचित स्थान, सम्मान, पूजायोग्य र प्रसादका रूपमा महत्त्व दिएको पाइन्छ । पूजामा आउने यी विविध वनस्पति, जीवजन्तु तथा पोखरी आदिको प्रसङ्गले प्रकृतिप्रतिको सचेतना सदियौँदेखि जारी रहेको बोध गराउँछ ।
लोककल्याणका पक्षहरूलाई सांस्कृतिक आवरणमा संरक्षण दिँदै समाजका हरेक जातिले यो पर्व मनाउने गर्दछन् । मातृत्व पक्षप्रति सम्मान गरी सांस्कृतिक अविभाज्य अङ्गका रूपमा जीवन शक्ति प्रदान गरिरहेको छ । आफ्ना दिवङ्गत सासूका साथै दिवङ्गत आमा तथा अन्य पूज्य महिलाप्रति श्रद्धास्वरुप पितराइन खुवाउने गरिन्छ । पर्वले मानवीयता, समानता, प्रकृति, पर्यावरण आदिलाई संरक्षण एवं प्रवर्द्धन गर्न गतिलो स्थान प्रदान गरेको छ । जितिया पितृ पक्ष अन्तर्गत पर्दछ । पितृ पक्षमा पुरुषवर्गले आफ्ना दिवङ्गत पितृहरूलाई पक्षभरि नै तर्पण दिने गर्दछन् भने महिलावर्गले जितिया व्रतमा दिवंगता महिलालाई नैवेद्य अर्पण गर्ने गर्दछन् ।
जितियामा सप्तमी तिथिमा नहाएखाए गरिन्छ । यस दिन व्रतार्थी स्नानादि गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सर्स्युको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरि भनिन्छ । यो तेलखरि प्रसादस्वरूप घरका सबैले टाउकोमा लगाउने गर्दछन् ।
सप्तमी तिथिकै दिन दिवंंगता महिलाप्रति श्रद्धा स्वरूप नैवेद्य अर्पण गरी महिलाहरूलाई निम्तो दिई भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसै दिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ । शाकाहारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ । सो दिन नैवेद्यमा गहुँको पिठो र गुड मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चीनी जस्ता वस्तुहरू आफ्ना कुलवंश, रीति परम्परा अनुसार चढाइने गरिन्छ । सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा, फल, अमोट, मिष्ठान्न आदि खाने गर्दछन्, जसलाई ओठङन भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ ।
नवमी तिथिमा स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ । यस पर्वमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।
विशेष रुपले आइतवार र मंगलबार पर्ने जितियालाई अधिक महत्त्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठुलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी हुन्छन् भन्ने मान्यता रहेको छ । जितिया पर्वको मुख्य उद्देश्य मोक्षप्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको छ । यस पर्वबारे जनुसमुदायमा ‘जितिया पावनि बड भारी, धियापूताके ठोकि सुतौलनि, अपने खयलनि भरि थारी’ भनाइ छ । अर्थात् जितिया पर्व धेरै ठुलो छ । यो पर्व गर्न आमाले छोरा–छोरीलाई ठोक–ठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, त्यो त त्यसको पवित्रता र महत्वलाई दर्साउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र हो ।
अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।
मध्यान्हतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्त्व, पर्वको शुभारम्भ, जिमुतवाहन देवताका बारेमा व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।
यहाँ जिमुतवाहन को हुन् ? भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । भविष्य पुराणका अनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियम निष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए ।
यस पर्वमा चील र स्यालको पनि पूजा गरिन्छ । हिन्दुधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्त्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोही अनुप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसो लगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ । चिल र स्याललाई नैवेद्य चढाउनुले पशुपन्छीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।
कनकावती नगरको मध्यभाग स्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बिचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए ।
व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरु फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो । कालक्रममा प्रयागको कुम्भ मेला दुवैको मृत्यु भयो ।
कुम्भमा मृत्यु भएका कारण दुवैको जन्म वेदका ज्ञाता भास्कर नामक ब्राम्हणको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पुरावतीका रूपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो ।
वर्षोंपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आफ्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्यु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसै कारणले यो व्रत जति कठोर भएपनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन् ।
जितिया व्रतमा प्रयोग हुने तोरी वा सर्स्युको तेल, पिना, घिरौँलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृति दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एकदिन पछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले खानपान र विविधताको पहिचान गराउँछ । ओठङनको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबिच आत्मीयताको बोधका साथै सांस्कृतिक मान्यता प्रतिबिम्बित भएको पाइन्छ ।
यस लोकपर्वको रहस्य र यसको सुरुवातको पछाडि मुख्य रूपमा तीनवटा पौराणिक कथा र गहिरो आध्यात्मिक विश्वास जोडिएको छ । जितियाको रहस्य र उत्पत्तिको मुख्य आधार पौराणिक कथाहरू छन् । राजा जिमुतवाहनको आत्मत्याग, चिल र स्यालको व्रत र निष्ठा एवं अश्वत्थामा र परीक्षितको कथाले पर्वको रहस्यलाई स्पष्ट गर्दछ ।
जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रूपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ । यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पूजन गरिन्छ । छोरा र छोरीमा भेदभाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ ।
यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रूपमा बुझ्नु जरुरी छ । पारिवारिक जीवन सुखमयको कामना, पितृवर्गप्रति कुलवधूवर्गले समेत श्रद्धा व्यक्त गर्ने, खानपानको विविधताको पहिचान, सामाजिक सद्भाव वृद्धि, आमाद्वारा सन्तानप्रति ममत्व र समतामूलक सभ्य समाज निर्माण गर्नेतर्फ प्रेरणा एवं उत्साह प्रदान गरी मौलिक संस्कृतिको मूल स्वरूप दृष्टिगोचर हुन्छ ।
यस पर्वमा पुराना पुस्ताका अनुभव र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै निरन्तरता दिने पनि गरिन्छ । पर्वको धार्मिक वा सांस्कृतिक मात्र नभई यसको गहिरो मनोवैज्ञानिक सार पनि रहेको छ । यसले आमा र सन्तानबिचको भावनात्मक सम्बन्धलाई मजबुत बनाउने आमाहरूको दृढता बढाउने र सामाजिक एकता कायम गर्ने कार्य गर्दछ ।
मातृत्व र भावनात्मक सुरक्षा, सङ्कल्प र मानसिक दृढता, सदाचारको सन्देश, मातृशक्तिको सम्मान, प्रकृतिको संरक्षण, सांस्कृतिक जीवन्तता यस पर्वको मूल दर्शन हो ।
